बालेनकाे समर्थन गर्दै रवीन्द्र मिश्रले सोधे अदालतलाई ५ प्रश्न 

शुक्रबार, असार ८, २०८०

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले गरेको अदालतप्रतिको टिप्पणीको समर्थन जनाउँदै ५ प्रश्न गरेका छन् । उनले आज सामाजिक सञ्जालमार्फत् अदालतमाथि ५ वटा प्रश्न तेस्र्याएका हुन् ।

अदालतको फैसला नमान्ने मेयर शाहको घोषणालाई धेरैले आलोचना गरेको बताउँदै मिश्रले देशमा राजनीति मुछिएका मुद्दाहरूमा न्यायपालिकाप्रतिको विश्वास रसातलमा पुगिसकेको बताएका छन् ।  मिश्रले यस्तो अवस्थामा अदालतको आदेश किन मान्ने भन्दै ५ प्रश्न अघि सारेका छन् । जनताको प्रश्न भन्दै उनले अघि सारेका प्रश्न यस्ता छन् :   

१. प्रभावशाली राजनीतिकर्मीहरूले चाहे केही हप्तामै फैसला हुने, उनीहरूले नचाहे बर्षौँसम्म मुद्दा अलपत्र राख्ने न्यायलयको फैसला जनताले चाहिँ किन मान्ने ?

२. संविधान र सर्वोच्चका नजिरहरूले यो–यो विषयमा राष्ट्रपतिबाट माफी हुन सक्दैन भनेर किटान गर्दागर्दै सर्वोच्चको फैसला सरकारले नै अवज्ञा गर्न मिल्ने हो भने जनताले गर्न किन नमिल्ने ?

३. भोलिपल्टै राजनीतिक सहमति गर्नका लागि देशद्रोह लगायतका मुद्दा लागेका व्यक्तिलाई अनायासै छुटाउन राजनीतिक प्रभाव स्वीकार्ने अदालतलाई हामीले चाहिँ किन सम्मान गर्नु पर्ने ?

४. हत्याको अभियोग लागेको व्यक्तिलाई सर्वोच्चले पक्रिन आदेश दिँदा नपक्डिने को हो ? के सर्वोच्चको निर्णय बालेनजीले मात्र मान्नुपर्ने हो ?

५. फौजदारी अभियोग लागेका प्रधानमन्त्रीले देशको नेतृत्व गरिरहँदा उनी विरूद्धका मुद्दाचाहिँ अघि नबढाउने अदालतको निर्णय मान्नु पर्ने आधार के छ ?
 

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्