महाकालेश्वर मन्दिर जाने अवसर मिलाएकोमा धन्यवाद : प्रधानमन्त्री प्रचण्ड

शनिबार, जेठ २०, २०८०

काठमाडौँ– भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रशिद्ध प्राचिन सहर उज्जैनमा रहेको महाकालेश्वर मन्दिरको अवलोकन गर्ने अवसर मिलाएकोमा मध्य प्रदेशका राज्यपाल मंगुभाई पटेल र मुख्यमन्त्री शिवराजसिंह चौहानलाई धन्यवाद दिएका छन् ।

उनले आज सामाजिक सञ्जालमार्फत् न्यानो स्वागत र आत्मीय आतिथ्यताका लागि धन्यवाद दिएका हुन् ।

‘भारतको प्रशिद्ध प्राचिन सहर उज्जैनमा रहेको श्री महाकालेश्वर मन्दिरको अवलोकन गर्ने अवसर मिलेको छ । म न्यानो स्वागत र आत्मीय आतिथ्यताका लागि मध्य प्रदेशका राज्यपाल मंगुभाई पटेल र मुख्यमन्त्री शिवराजसिंह चौहानजीप्रति आभार प्रकट गर्दछु,’ उनले फेसबुकमा लेखेका छन् ।

नयाँ दिल्लीमा दुई देशबीच औपचारिक भेटवार्ता र महत्वपूर्ण सहमतिपछि शुक्रबार र आजको मध्य प्रदेश भ्रमण अत्यन्तै फलदायी रहेको प्रधानमन्त्री प्रचण्डको दाबी छ ।

‘नयाँ दिल्लीमा दुई देशबीच औपचारिक भेटवार्ता र महत्वपूर्ण सहमतिपछि हिजो र आजको मध्य प्रदेश भ्रमण अत्यन्तै फलदायी रह्यो,’ उनले लेखेका छन्, ‘भारतको सबैभन्दा स्वच्छ सहरको पहिचान बनाएको इन्दौरस्थित फोहर व्यवस्थापन केन्द्र र टिसिएस इन्फोसिस विशेष आर्थिक क्षेत्रको भ्रमण नेपालका लागि उपयोगी हुने विश्वास लिएको छु ।’

नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड सैद्धान्तिक रुपमा नास्तिक हुन् ।

माक्र्सवादी सिद्धान्तले धर्मलाई अफिम मान्छ । हुन पनि प्रचण्ड नेपालका आराध्यादेव तथा विश्वभरका हिन्दूहरूको आस्थाको केन्द्र पशुपतिनाथको मन्दिरमा कहिल्यै गएर दर्शन गरेको थाहा छैन ।

तर, उनै प्रचण्ड भारत भ्रमणका क्रममा भने शुक्रबार आस्थिक देखिएका थिए । 

प्रचण्डले श्रीमती सीता दाहालको स्वास्थ्यलाभको कामना गर्दै उज्जैनस्थित महाकाल बाबाको मन्दिरमा आज विशेष पूजा गरेका छन् ।

उनले महाकाल बाबाको गर्भगृहमा श्रीमतीको स्वास्थ्यलाभको कामनासहित विशेष पूजा गरेको जनाइएको छ । सो क्रममा प्रचण्डले पहौलो वस्त्र धारण गरेका थिए । उनीसँगै छोरी गंगा दाहाल र अन्य मन्त्रीहरूले पनि पूजा गरेका थिए । 

विशेष पूजा समारोहमा मध्य प्रदेशका राज्यपाल पटेल पनि उपस्थित थिए । मन्दिरका शासकीय पुजारी पण्डित घनश्याम शर्माले प्रधानमन्त्री प्रचण्डबाट विशेष पूजा गराएका थिए ।

महाकालेश्वर दर्शनका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालबाटै लगेको १०८ किलो ग्राम रुद्राक्ष र नगद ५१ हजार रुपैयाँ चढाएको बताइएको छ ।

पशुपतिनाथको मन्दिरमा कहिल्यै गएर दर्शन नगरेका प्रचण्डले भारत भ्रमणका क्रममा भने गेरु वस्त्र लगाएर मन्दिर गएको भन्दै कतिपयले ओलोचना गरेका हुन् । यसैलाई लिएर उनले आज सामाजिक सञ्जालमार्फत् स्पष्टीकरण दिएका हुन् । 

प्रधानमन्त्री प्रचण्ड आज साँझ स्वदेश फर्कने कार्यक्रम छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १२:३३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार