बाँझो जमिनमा सामूहिक र सहकारी खेती गरिनेछ : मन्त्री भुसाल

आइतबार, जेठ ७, २०८०

अर्घाखाँची– कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले बाँझो जमिनमा सामूहिक खेती र सहकारी खेती गरेर उत्पादन वृद्धि गर्ने सरकारको योजना रहेको बताएका छन् ।

नेपाल  पत्रकार महासङ्घ अर्घाखाँचीले गरेको पत्रकार सम्मेलनमा उनले नेपालमा १० लाख ३० हजार हेक्टर जमिन बाँझो रहेको उल्लेख गर्दै बाँझो जमिनमा एकल खेती नभई सामूहिक तवरको खेती गरिने जानकारी दिए ।

पहिले जस्तो गोरुले जोतेर कोदाली खनेर गरिने खेतीको लागत मूल्य बढ्ने भएकाले व्यावसायिकीकरण र यान्त्रिकीकरणबाट उत्पादन बढाउनु अहिलेको आवश्यकता रहेको उनले बताए ।

मन्त्री भुसालले भने, “पहिले खाद्यान्न निर्यात गर्थ्यौं , अहिले खाद्यान्न आयात गछौँ । त्यसलाई प्रतिस्थापन गर्ने हाम्रो पहिलो लक्ष्य हो । सबैभन्दा बढी उब्जाउ क्षेत्र तराई हो । तराईमा सिँचाइको व्यवस्थापन गरेर कृषिमा व्यावसायिकीकरण गरेर खाद्यान्न निर्यात गर्ने लक्ष्य सरकारको रहेको छ ।”

कृषिबाट उत्पादन भएको धान, मकै, गहुँलगायतका खाद्य सामग्रीको मूल्य उत्पादन हुनुभन्दा पहिले नै तोकिने उनको भनाइ थियो । उनले  यसभन्दा पहिला उत्पादन भएपछि धानको तथा उखुको मूल्य निर्धारण हुँदै आएकामा अब बाली लगाउनुभन्दा पहिले नै मूल्य निर्धारण हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्