नक्कली भुटानी शरणार्थी प्रकरण

भुटानी शरणार्थी प्रकरण राष्ट्रमाथिको घात र अपमान : महासचिव पोखरेल

सोमबार, जेठ १, २०८०

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रमाथिको घात र अपमान भएको बताएका छन् ।

राष्ट्रिय युवा संघले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले मानवबेचबिखनमा मुलुकको नाम जोडिनु अन्तराष्ट्रिय जगतमा नै लज्जास्पद भएको र यस प्रकरणमा राष्ट्रमाथिको घात र अपमान भएको बताएका हुन् ।

उनले उक्त प्रकरणमा बदमासी एउटाले गर्ने र संकेत अर्कोतर्फ गर्ने काम भएकाले त्यसप्रति सचेत हुन जरुरी रहेको बताए । एमाले नेतृत्वको सरकार भएका बेलमा बाँकी रहेका भुटानी शरणार्थीका बिषयमा कार्यदल बनाइएको र कार्यदलले बनाएको प्रतिवेदनमाथि जालसाझी गरिएको पोखरेलले जिकिर गरे । पोखरेलले शरणार्थी प्रकरणमा संलग्न जोकोहिलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्ने बताए ।

उनले भ्रष्टाचारका सवै काण्डहरुको छानविन गर्न एमाले तयार रहेको भन्दै अहिलेको सत्ता पक्षपनि तयार हुनुपर्ने धारणा राखे । समाजमा रहेका सवै प्रकारका भेदहरुलाई अन्त्य गर्नका लागि युवाहरुले अगुवाई गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा युवा संघका अध्यक्ष क्षितिज थेवेले मुलुकलाई सुशासनतर्फ अघि बढाउन युवा संघले निरन्तर सचेत गराएको बताए । उनले युवाहरुलाई मुलुकमा स्वरोजगार बनाउनेगरि अभियान चलाउने काम युवा संघले गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्