२६ प्रतिशतले घट्यो निर्यात, व्यापार घाटा १० खर्ब ८३ अर्ब

बुधबार, वैशाख २७, २०८०

काठमाडौँ– निर्यात व्यापारमा अनपेक्षित कमी आएको छ । चालु आर्थिक वर्षको नौ महिना (चैत मसान्तसम्म)मा निर्यात व्यापार २६ प्रतिशतले कमी आएको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकले यस्तो देखाएको हो । 

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९-८० को नौ महिनामा कुल वस्तु निर्यात २६.३ प्रतिशतले कमी आएर १ खर्ब १८ अर्ब २८ करोड रुपैयाँ कायम भएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ६९.४ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३५.१ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः २.२ प्रतिशत र ८.१ प्रतिशतले वृद्धि भएको छ । 

वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलैँचा, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, लत्ता–कपडा, जुटका सामान लगायतका वस्तुको निर्यात घटेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यस्तै, चालु आवको नौ महिनामा वस्तु आयात १८.१ प्रतिशतले कमी आएको छ । राष्ट्र बैंकका अनुसार गत चैत मसान्तसम्ममा १२ खर्ब १ अर्ब ५१ करोड रुपैयाँ बराबरका वस्तु तथा सेवा आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३२ प्रतिशतले बढेको थियो । 

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.४ प्रतिशत, २३.० प्रतिशत र १९.४ प्रतिशतले कमी आएको छ । 

वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, पेट्रोलियम पदार्थ, सुन, कागज लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एम एस विलेट, दूरसञ्चारका उपकरण तथा पार्ट्स, अन्य मेसिनरी तथा पार्टस् लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्पm भैरहवा सुक्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । 

व्यापार घाटा १० खर्ब ८३ अर्ब

चालु आवर्को २०७९-८० को नौ महिनामा कुल वस्तु व्यापार घाटा १७.१ प्रतिशतले कमी आएको छ ।

राष्ट्र बैंकका अनुसार सो अवधिसम्ममा १० खर्ब ८३ अर्ब २३ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २८.५ प्रतिशतले बढेको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १२:४७
प्रतिक्रिया दिनुहोस्