सांसद यादवको प्रश्न–टोपबहादुर दोषी छैनन् भने किन लुकेर बसेका छन् ?

मंगलबार, वैशाख २६, २०८०

काठमाडौं–जसपाका सांसद प्रदीप यादवले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमालेका सचिव टोपबहादुर रायमाझी दोषी होइनन भने किन लुकेर बसेका भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद् यादवले लुक्नु भनेको संलग्नता पुष्टि हुने बताउँदै दोषी नभए किन लुकेको भन्दै प्रश्न गरे ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि रायमाझी नेपालमा लुकेर बसेको र यसरी लुकेर बस्नुले दोषी रहेको पुष्टि गर्ने जिकिर गरे ।

उनको छोरा पक्राउ पर्नुले यसलाई थप बल पुगेको अवस्था रहेको सांसद यादवको दाबी छ । प्रहरीले नियन्त्रणमा लिएर कारबाही नगरे प्रहरीमाथि नै प्रश्न उठ्ने भन्दै उनले यस प्रकरणमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्ने माग गरे । 

‘उनको छोरा पक्राउ पर्नुले यसलाई थप बल पुगेको अवस्था छ । प्रहरीले नियन्त्रणमा लिएर छिटोभन्दा छिटो कानुनी दायरमा ल्याउनुपर्छ । नभए प्रहरीको काममाथि नै प्रश्न गर्नुपर्ने हुन्छ । टोपबहादुर नेपालमा प्रहरीको सम्पर्कमा रहेको हल्ला चलेको छ । यसले पूरा प्रकरणमा अनुसन्धान हुनेमा शंका गर्नुपर्ने अवस्था छ’, उनले भने । 

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १२:४०
प्रतिक्रिया दिनुहोस्