शिक्षासेवी झाको स्मृतिमा शिक्षा पुरस्कार

मंगलबार, वैशाख १२, २०८०

काठमाडौं-साहित्यकार तथा संस्कृतिविद् प्राज्ञ धीरेन्द्र प्रेमर्षि र साहित्यकार तथा सञ्चारकर्मी रूपा झाले पिता पं. कृष्णलाल झाको स्मृतिमा सामुदायिक विद्यालयको शिक्षण तथा शैक्षणिक उन्नयनमा उल्लेख्य योगदान पुर्‍याउने विशिष्ट शिक्षासेवीहरूलाई वर्षेनी पुरस्कृत गर्ने गरी पुरस्कारको स्थापना गरेका छन् ।

जेठा छोरा अक्षेन्द्र झाको जन्मदिन १२ वैशाखको उपलक्ष्यमा छोराद्वारा नै राखिने अक्षय कोषबाट प्रदान गर्नेगरी वार्षिक ५१ हजार रुपैयाँको ‘पं. कृष्णलाल झा स्मृति शिक्षा पुरस्कार’को स्थापना गरिएको हो ।

२००४ सालमा स्थापित भई पूर्वाञ्चल क्षेत्रमै उल्लेख्य शैक्षणिक प्रतिष्ठानका रूपमा सुपरिचित सिरहा जिल्लास्थित बस्तीपुर माध्यमिक विद्यालयका संस्थापक शिक्षकमध्येका एक पं. झाले त्यस विद्यालयमा अविच्छिन्न रूपले सबैभन्दा लामो समयसम्म शिक्षण गरेका थिए ।

शिक्षासेवी झाको स्मृति दिवसका दिन बस्तीपुरस्थित उनले अध्यापन गरेको विद्यालय परिसरमै पुरस्कार समर्पण समारोह आयोजना गरिने जानकारी दिँदै बस्तीपुर मा.वि. बाट एसईई परीक्षामा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने एकजना छात्र/छात्रालाई ११ हजार रुपैयाँको कृष्णानन्दी प्रोत्साहन पुरस्कार वा सोही विद्यालयमा कक्षा ११–१२ अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १०:५३
प्रतिक्रिया दिनुहोस्