व्याजदर घटाउने निर्णयले सेयर बजारमा उछाल, ९२ अंकले बढ्यो परिसुचक

बुधबार, चैत २९, २०७९

काठमाडौँ– सेयर बजार उच्च अंकले बढेको छ । लामो समयपछि आज सेयर बजार मापक नेप्से परिसचुक ९२ अंकले बढेको हो ।

आज परिसुचक ९२.२२ अंकले बढेर १९६३.२२ विन्दुमा पुगेको बैंकहरुले व्याजदर घटाएको निर्णय सार्वजनिक भएपछि एकै दिन परिसुचक ४.९३ प्रतिशतले बढेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दिएको जानकारी अनुसार आज १ अर्ब ९७ करोड ६० लाख रुपैयाँ बराबरको ६१ लाख ७ हजार कित्ता सेयर खरिद विक्री भए । 

आज खासगरी बैंकिङ समुहमा लगानीकर्ताको बढी भीड देखियो । नेप्सेकाृ अनुसार बैंकिङ सव इन्डेक्स ५.४६ प्रतिशतले बढेको छ भने विकास बैंक समुहको सब इन्डेक्स ५.७४ प्रतिशतले बढेको छ । फाइनान्स समुहको सब इन्डेक्स पनि ६.८४ प्रतिशतले बढेको छ ।

लाभांश वितरणमा सीमा लगाएपछि करिब क्र्यासको अवस्थामा पुगेको माइक्रोफाइनान्स समुहको उपसुचक पनि बढेको छ । नेप्सका अनुसार माइक्रोफाइन्स समुहको सब इन्डेक्स ५.११ प्रतिशतले बढेको छ ।

आजको बजारमा सबै कम्पनीका सेयरको मूल्य बढेको छ । प्रधानमन्त्री तथा अर्थमन्त्रीले बैंक तथा वित्तीय संस्थाको व्याजदर घटाउने सार्वजनिक अभिव्यक्ति दिएको र नेपाल राष्ट्र बैंकका गभर्नरले पनि अहिलेका अर्थमन्त्रीसँग सम्बन्ध सुमधुर बनाएर अघि बढ्ने संकेत दिएपछि सेयर बजारमा लगानीकर्ताको मनोबल बढेको हो । यस्तै, बैशाखदेखि लागू हुने गरी बैंकहरुले व्याजदर १० प्रतिशतभन्दा बढीले कम गरेपछि सेयर बजारमा उछाल देखिएको छ ।

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १५:१०
प्रतिक्रिया दिनुहोस्