प्रधानमन्त्रीलाई गगनको आग्रह–निर्देशन र घोषणाबाट शासकीय सुधार हुदैन

शुक्रबार, चैत २४, २०७९

काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन कुमार थापाले निर्देशन र घोषणाबाट शासकिय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट मुक्त हुन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल निर्देशन र घोषणाहरु मात्रै गर्दै हिँडेको बताए । प्रधानमन्त्रीलाई उद्घाट्न र सम्मेलनहरुमा जान भ्याइनभ्याइ भएको भन्दै प्रधानमन्त्री फुर्सद भएकोप्रति आफू छक्क परेको थापाको भनाइ छ ।

उनले प्रधानमन्त्रीलाई  निर्देशन र घोषणाले शासकीय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट मुक्त हुन आग्रह पनि गरे । प्रधानमन्त्री लक्ष्यमा पुग्नका लागि मलमल भइरहेको भन्दै उनले प्रधानमन्त्री दाहालसँग लक्ष्य पुरा गर्ने आत्मविश्वास नदेखिएको आरोप पनि लगाए ।

‘अब साझा न्यूनतम कार्यक्रमपछि यात्रा शुरु भयो । मेरो लक्ष्य प्रष्ट छ । यो लक्ष्यसम्म पुर्‍याउने जिम्मेवारी मेरो हो । जस भएपनि मेरो हो । अपजस भएपनि मेरो हो भन्ने अठोट, दृढता, आत्मविश्वास प्रधानमन्त्रीमा हुनुपर्छ । तर कताकता मैले प्रधानमन्त्रीज्युको काम, कारबाही हेर्दै गर्दा त्यो आत्मविश्वास नभएको, बढी अलमल भइरहेको पाएको छु । केही कार्यक्रममा मलाई अतिथिको रुपमा बोलाइयो । मैले भने म भ्याउँदिन । आयोजकहरुले भन्नुभयो प्रधानमन्त्री आउँदै हुनुहुन्छ । प्रधानमन्त्रीलाई फुर्सद हुने तिमीलाई फुर्सद नहुने ? अप्ठेराे लाग्यो म गएँ,’ महामन्त्री थापाले भने ।

उनले प्रधानमन्त्रीको भनाइ र जनताले भोगेको यथार्थ फरक भएको पनि बताए ।

‘प्रधानमन्त्रीले कार्यक्रममा बोल्नुभएको कुरालाई हामीले एक ठाउँ राखेर हेयौँ । वैदेशिक रोजगारीमा जाँदा दुःख नदिने, एकल अंकमा ब्याजदर झार्ने, राजस्व चुहावटमा भएका कुराहरुलाई कडाइका साथ नियन्त्रण गर्ने, प्रधानमन्त्रीले दिनुभएका निर्देशनहरु हुन् । हामीले अर्कोतिर घोषणाहरु हे¥यौँ भने दलितहरुले सयौँ वर्षसम्म सम्झने खालको कार्यक्रम म लिएर आउँछु । गोरखकाली रबर उद्योग म चलाउँछु । शिक्षा क्षेत्रमा प्याकेज ल्याएर सुदृढ बनाउँछु । यो प्रधानमन्त्रीका घोषणाहरु हुन् । निर्देशन र घोषणा यो दुईवटा कुराले शासकीय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट हाम्रो प्रधानमन्त्री पहिला त्यहाँबाट मुक्त हुनुपर्छ । निर्देशन नदिएको हुनाले गर्दा शासकीय परिणामहरु नआएका होइनन्,’ थापाले भने ।

महामन्त्री थापाले सरकारको नीतिगत प्राथमिकता र न्युनतम कार्यक्रम संसद चलिरहेको बेलमा बाहिरबाट सार्वजनिक गरिएकोप्रति विरोध जनाए । न्युनतम कार्यक्रम संसदभित्रै प्रश्तुत हुनुपर्ने उनको भनाइ छ । संसद चलिरहेको बेलामा यस्ता कार्यक्रमहरु संसदभित्रै प्रश्तुत गर्ने परम्परा बसाउनु पर्ने उनले बताए ।

सांसद थापाले प्रधानमन्त्रीलाई काम गर्नका लागि राम्रो समूह चाहिने भन्दै प्रधानमन्त्रीसँग राम्रा समूह नभएको आरोप पनि लगाए । प्रधानमन्त्रीको सरकारी समूह सजाय पाएको जस्तो रहेको उनको भनाइ छ । अन्त काम केही नभएर प्रधानमन्त्री कार्यालयमा कर्मचारीहरुलाई थन्क्याउन लगिएको जस्तो भान हुने भन्दै थापाले प्रधानमन्त्री दाहाललाई गठबन्धनका दलहरुसँग बस्ने समय छोट्याएर सम्पूर्ण समय सरकारको काममा केन्द्रित गर्न सुझाव दिए ।

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १५:५८
प्रतिक्रिया दिनुहोस्