क्रान्तिकारी माओवादी र बहुमतको पार्टी एकता घोषणा

शुक्रबार, चैत २४, २०७९

काठमाडौं –मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)बीच आज (शुक्रबार) पार्टी एकता घोषणा भएको छ । 

शुक्रबार पत्रकार सम्मेलन गरेर दुवै दलले पार्टी एकता गर्नेबारे औपचारिक जानकारी दिएका हुन् । 

माओवादीका यी दुई घटकसहित चारवटा वामपन्थी पार्टीले केही समययता संयोजन समिति बनाएर संयुक्त गतिविधि गर्दै आएका छन् । दुई पार्टीले १८ वैशाखमा पार्टी एकता गर्ने छन् ।

यद्यपी दुवै पार्टी एकता गर्ने निर्णय गरे पनि पार्टीको नाम र आगामी कार्यदिशाका विषयमा टुङ्गोमा पुगेको छैन । पार्टी एकता भएपछि नेकपा माओवादी हुने सम्भावना देखिएको नेताहरूले बताएका छन् ।  दुवै पार्टीको भाव समेटिनेगरी पार्टीको नाम राखिने नेताहरूको भनाइ छ ।

पार्टी अध्यक्ष मण्डल बनाएर त्यसको संयोजक वैद्यलाई बनाएर जाने समझदारी भएको छ । आलोपालो नेतृत्व गर्ने गरी दुई जनाबीच अध्यक्ष मण्डल बनाइने छ । 

२०६९ सालमा प्रचण्ड नेतृत्वको एकीकृत माओवादी विभाजन गरेर वैद्यले नेकपा–माओवादी गठन गरेका थिए । प्रचण्डबाट वैद्य छुट्टिएको तीन वर्षमा नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नै नेतृत्वमा नेकपा बनाएका थिए । विप्लवबाट पार्टी विभाजन गरेर बास्तोलाले छुट्टै पार्टी  बनाएपछि अहिले वैद्यसँग एकता गर्न लागेको हुन् ।


 

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १४:२८
प्रतिक्रिया दिनुहोस्