क्रान्तिकारी माओवादी र बहुमतले १८ वैशाखमा पार्टी एकता गर्ने

बिहीबार, चैत २३, २०७९

काठमाडौं–मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतले १८ वैशाखमा पार्टी एकता गर्ने भएका छन् । १८ वैशाख अर्थात १ मईमा मनाइने अन्तर्राष्ट्रिय श्रमिक दिवस पारेर २ पार्टी एकता हुन लागेको हो ।

वैद्य र बास्तोला नेतृत्वको वार्ता टोलीले आगामी शुक्रबार पत्रकार सम्मेलन गरेर यस विषयमा जानकारी दिने छ । क्रान्तिकारी माओवादी सिपी गजुरेल, रामसिंह श्रीष वार्ता टोलीका सदस्य छन् । यस्तै नेकपा बहुमतबाट प्रवक्ता हेमन्तप्रकाश ओली र उदयबहादुर चलाउने वार्ता टोलीका सदस्य छन् । 

यद्यपी दुवै पार्टी एकता गर्ने निर्णय गरे पनि पार्टीको नाम र आगामी कार्यदिशाका विषयमा टुङ्गोमा पुगेको छैन । पार्टी एकता भएपछि नेकपा माओवादी हुने सम्भावना देखिएको नेताहरूले बताएका छन् ।  दुवै पार्टीको भाव समेटिनेगरी पार्टीको नाम राखिने नेताहरूको भनाइ छ ।

पार्टी अध्यक्ष मण्डल बनाएर त्यसको संयोजक वैद्यलाई बनाएर जाने समझदारी भएको छ । आलोपालो नेतृत्व गर्ने गरी दुई जनाबीच अध्यक्ष मण्डल बनाइने छ । 

२०६९ सालमा प्रचण्ड नेतृत्वको एकीकृत माओवादी विभाजन गरेर वैद्यले नेकपा–माओवादी गठन गरेका थिए । प्रचण्डबाट वैद्य छुट्टिएको तीन वर्षमा नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नै नेतृत्वमा नेकपा बनाएका थिए । विप्लवबाट पार्टी विभाजन गरेर बास्तोलाले छुट्टै पार्टी  बनाएपछि अहिले वैद्यसँग एकता गर्न लागेको हुन् ।


 

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १४:४२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार