त्रिपुरेश्वरदेखि वाणभन्ज्याङसम्मको बस्ती प्रभावित भयो, त्रिपुरेश्वरलाई जिरोकिलो मान्नु भएनः केसी

बिहीबार, चैत २३, २०७९

काठमाडौं । नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले राष्ट्रिय राजमार्ग सुरु हुने स्थान परिवर्तन गर्न माग गरेका छन् । सांसद केसीले आजको प्रतिनिधिसभामा बोल्दै सरकारसँग यस्तो माग गरेका हुन् ।

अहिले त्रिपुरेश्वरबाट जिरोकिलो सुरु हुँदा राष्ट्रिय राजमार्गको ५० मिटर मापदण्डले त्रिपुरेश्वरदेखि वाणभन्ज्याङसम्मको वस्ती प्रभावित भएकोले वाणभन्ज्याङलाई जिरोकिलो मान्नुपर्ने उनको भनाइ छ ।

‘राष्ट्रिय राजमार्गको मापदण्डका कारण उपत्यकाबासी अत्यन्त आहात भएका छन् । जिरोकिलो त्रिपुरेश्वरको शालिकलाई तय गरेका कारण ५० मिटरको मापदण्डको चपेटामा परेका छन् । पुस्तौं पुस्तादेखि बसोबास गरेको र सडक निर्माण गर्नुभन्दा पहिलादेखि बसोबास गरेको त्यस क्षेत्र विशेष गरी कालिमाटी, कलंकी, थानकोट, वाणभन्ज्याङका जनताले पटक पटक सडक निर्माणका लागि जग्गा पनि दिएका छन् । अहिले त्यहाँ यदि ५० मिटर लागू गर्ने हो भने सारा काठमाडौंका बस्तीहरु प्रभावित हुने अवस्था छ,’ सांसद केसीले भने ।

उनले सो क्षेत्रमा राष्ट्रिय राजमार्गको मापदण्ड लागू नगरी नगरपालिका तथा नगर विकासको मापदण्ड लागू गर्न पनि आग्रह गरे ।

‘नगरविकास समिति, नगरपालिकाको नियम अनुसार ११÷११ मिटरको मापदण्ड कायम हुनुपर्यो । र, वाणभन्ज्याङ काठमाडौं उपत्यकाको प्रवेशद्वार भएकोले वाणभन्ज्याङबाट जिरोकिलो सुरु हुने गरेर मापदण्ड तय गरियोस्,’ सांसद केसीले भने ।

उनले ठुलाठुला सडक बनाउँदैमा ट्राफिक व्यवस्थापन सहज नहुने पनि बताए ।

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १४:२४
प्रतिक्रिया दिनुहोस्