केपी ओली भन्छन्– उपचुनाव युवामय, गालीगलौज नगरी एजेण्डामा बहस गरौं

बिहीबार, चैत २३, २०७९

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख १० मा हुने उपनिर्वाचन युवामय भएको बताएका छन् । उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुन लागेको समयमा ओलीले धेरैजसो नयाँ र युवा अनुहार देखिएको भन्दै युवामय उपचुनाव भनेका हुन् ।

यस्तै, उनले उपनिर्वाचनमा व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित वसह गर्न पनि सार्वजनिक आव्हान गरेका छन् । सामाजिक संजाल फेसबुकमार्फत ओलीले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

‘वैशाख १० गते उपनिर्वाचमा भाग लिने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुँदैछ। धेरैजसो उम्मेद्वारहरूमा नयाँ र युवा अनुहार देखिरहेको छु, यो खुसीको कुरा हो,’ ओलीले लेखेका छन् ।

उनले उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन पनि आग्रह गरेका छन् ।

‘उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न म आग्रह गर्दछु। मैले गत आम निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई बहसका निम्ति आउन आह्वान गरेको थिएँ, त्यसबेला मेरो प्रयास सफल भएन। अब हामीले राजनीतिलाई  सही बाटोमा लैजान एजेण्डा केन्द्रित बनाउनै पर्छ। चुनावी मैदानमा उत्रिनु भएका सबै उम्मेदवारलाई शुभकामना !’ ओलीले उल्लेख गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  ११:३२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार