प्रदेश १ को नाम पहिचानकै आधारमा हुनुपर्छ : माओवादी

बुधबार, चैत २२, २०७९

काठमाडौं –नेकपा माओवादी केन्द्रले प्रदेश १ को नाम पहिचानका आधारमा हुनुपर्ने भन्दै भइरहेको आन्दोलनको पक्षमा रहेको जनाएको छ । 

पार्टी कार्यालय पेरिसडाडामा बुधबार बसेको माओवादी पदाधिकारी बैठकले कोसी नामकरण गरिएको विषयमा भइरहेको आन्दोलनको विषयमा धारणा तय गर्दै पार्टी पहिचानकै आधारमा प्रदेशको नामाङ्कन हुनुपर्ने पक्षमा रहेको निर्णय गरेको हो । 

बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले प्रदेशको नाम पहिचानका आधारमा राख्न माओवादीबाट कमजोरी भएको र पार्टी पहिचानकै पक्षमा रहेको बताए । प्रदेशको नामाङ्करण गर्ने अधिकार प्रदेशसभालाई रहेपनि माओवादी पहिचानकै आधारमा प्रदेशको नामाङ्करणको पक्षमा रहेको उनले बताए । 

बैठकले प्रदेश नामाङ्करणका विषयमा भएको आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा गर्दै उचित राहत दिन सरकारसँग माग गरेको ।

त्यस्तै बैठकले मिटरव्याजीे पीडितहरुको पक्षमा माओवादी रहेकोले सरकारले छानविन गरेर वार्ताका माध्यमबाट समस्या हल गर्नुपर्ने निष्कर्ष निकालेको प्रवक्ता महराले बताए ।

त्यस्तै प्रवक्ता महराले बिहीबारसम्ममा सरकारले पूर्णता पाउने जानकारी पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गराएको पनि बताए ।

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १७:५२
प्रतिक्रिया दिनुहोस्