योजनाबद्ध सहरी पूर्वाधार निर्माणमा वित्तीय स्रोत परिचालनको लागि नगर विकास कोष आवश्यक

बिहीबार, चैत ९, २०७९

काठमाडौँ– उपप्रधान एवं भौतिक पुर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले योजनाबद्ध सहरी पूर्वाधार निर्माणमा बित्तीय स्रोत परिचालनको लागि नगर विकास कोष स्थानीय तहको महत्वपूर्ण साझेदार भएको बताएका छन् । 

नगरपालिका वित्त तथा क्षमता विकासका लागि नगर विकास कोषद्वारा आयोजित प्रादेशिक कार्यशाला गोष्ठीमा उपप्रधानमन्त्री श्रेष्ठले नगर विकास कोषलाई परिचालन गर्न स्थानीय सरकार अग्रसर हुनुपर्ने बताएका हुन् । 

नगर विकास कोषले बित्तीयसँगै प्राविधिक र क्षमता विकासमा गरेको प्रयत्नको सह्राना गरे । नेपाल सरकारले २०१३ सालदेखि योजनावद्ध विकास अवलम्बनका १४ वटा आवधिक योजना कार्यान्वयनमा राखेको र १५ औँ योजना सम्झौताको तयारीमा रहेको उनले जानकारी दिए । 

नेपालमा सहरी विकासलाई उच्च प्राथमिकतामा राखेर स्रोतसाधन विनियोजन गरिएपनि सोचेअनुरुप नतिजा हाँसिल हुन नसकेको उनको स्विकारोक्ति छ । 

‘न्युनतम पूर्वाधारसहितको व्यवस्थित शहर बन्न सकेको छैन । पूर्वाधार निर्माणमा आर्थिक स्रोतको परिचालनको वैज्ञानिक विधि अबलम्बन गर्न केही नीतिगत जटिलता छन्, पहिले स्पष्ट नीतिगत व्यवस्था आवश्यक छ,’ उपप्रधानमन्त्री श्रेष्ठले भने ।

पूर्वाधार निर्माणका कामहरु भइरहे पनि सामाजिक तथा आर्थिक प्रतिफल र दिगोपनामा आवश्यक ध्यान पुग्न नसकेको उनले बताए । 

संघीय सरकार स्थानीय तहलाई मजबुद बनाउन दिगो विकासतर्फ लागि रहेको बेलामा नगर विकास कोष आवश्यकता र आपुर्तिबिचको आर्थिक तथा प्राविधिक खाडल पूरा गर्ने महत्वपूर्ण अंग बन्नुपर्ने उनको भनाइ छ । कोषलाई आर्थिक, प्राविधिक र कानुनी रुपले पुर्नसंरचना गर्दै बढ्दो सहरीकरणको आवश्यकता पुर्ती गर्नसक्ने सबल बित्तीय संस्था बनाउन आवश्यक रहेको उनले बताए । 

कोषको पूर्नसंरचनाका लागि नगर विकास ऐन २०५३ लाई संसोधन गरी कार्यान्वयनमा पहल गर्ने उनको प्रतिवद्धता छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयसँग सहकार्य गरी कोषले लगानी गर्ने अपेक्षा समेत गरेको उनले बताए । खानेपानी राज्यको दायित्व र पहिलो आवश्यकता रहेको भन्दै नगर विकास कोषको ऋणबाट खानेपानीमा लगानी गर्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागिपर्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए । 

नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण सापकोटाले हरेक स्थानीय तहका जनप्रतिनिधिले आफ्नो कार्यकालमा नगर विकास कोषसँग कम्तीमा एउटा योजनामा सहकार्य गर्ने अपेक्षा राखेको बताएका छन् । कोषको लगानीलाई आत्मसात गर्ने, कोषसँग कसरी आयोजना माग गर्ने, लगानीका क्षेत्र र दिगो व्यवस्थापन गर्ने विषयमा जानकारी गराउन प्रदेशस्तरीय कार्यशाला गोष्ठीको आयोजना गरेको उनले बताए । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव हेमराज तामाङले वित्तीय संघीयतालाई सुदृढ गरी विकासमार्फत् सम्बृद्धीतर्फ उन्मुख गराउन बित्तीय प्रवन्धको खाँचो रहेको बताए । 

‘दीगो विकास लक्ष्य नं ११ ले हाम्रो सहर र मानव वस्तीलाई सामावेशी, सुरक्षित उत्थानशील एवं दीगो बनाउने परिकल्पना गरेको छ । त्यसैले यो परिकल्पनालाई साकार तुल्याउन नगरको विकास तिव्र बनाउन आवश्यक छ । यसको लागि नगरलाई वित्तीय स्रोतको खाँचो रहनु र नगर विकास कोष लगानी गर्न आतुर हुनुले सहकार्य सुमधुर हुने विश्वास छ,’ सहसचिव तामाङले भने ।

कोष र नगरपालिकाको सहकार्यमा सहजिकरण गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाइ छ । 

यस्तै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उपत्यकाभित्र नगर विकास कोषले योजना सम्झौता गर्न नसकेको प्रति दुःख व्यक्त गरे ।

‘ललितपुर महानगरपालिकाको भुगोल सानो छ । नगर विकास कोषको योजना सम्झौता गर्न जग्गाको लालपुर्जा चाहिन्छ तर हामीसँग त्यो छैन,’ मेयर महर्जनले भने ।

मेयर महर्जनले उपत्यकामा इलेक्ट्रिक बस चलाउन कोषले लगानीको व्यवस्था मिलाउन लागि मौखिक प्रस्ताव राखेका छन् । कोभिडपछि फस्टाउन खोजिरहेको पर्यटन र उपत्यकाको वातावरणलाई ध्यान दिएर इलेक्ट्रिक बस सञ्चालन गर्ने उपत्यकाको स्थानीय तहको चाहनामा कोषको सहयोगको अपेक्षा गरे । 

नेपाल नगरपालिका संघका अध्यक्ष एवं निलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुंगानाले ऋण लिन पालिकाहरुले डराउन नहुने भन्दै नगर विकास कोषको बारेका सबै पक्षमा सही जानकारी दिन सुरु गरिएको प्रादेशिक कार्यशाला गोष्ठी कोशी र मधेशपछि बागमतीमा गरिएको बताए । 

शहरी विकास मन्त्रालयका सचिव एवं नगर विकास कोष सञ्चालक समितिका अध्यक्ष सुरेश आचार्यले ऋण लगानी र असुलीलाई सहज बनाउन कोषको विनियावली स्विकृत गरेको जानकारी दिए ।

‘नगरपालिकामा कोषले प्रवाह गर्ने ऋणको ढाँचामा परिवर्तन गरेको छ । सबै तहका सरकारसँग लगानी गर्ने बाटो खुलेको छ । नगर विकास कोषले प्रदान गर्ने ऋणको हिस्सा मात्र नभइ अनुदान दिएर नगरपालिकालाई आकर्षित गर्ने विभिन्न योजना ल्याउने तयारी गरेका छौँ’ उनले भने । 

कोषलाई संघीयताको मर्म बमोजिम कार्यक्षेत्र बिस्तृतिकरण र लगानी ढाँचालाई संघीय संरचना बमोजिम पारित गरेर अर्थ मन्त्रालयमा पठाएको उनले बताए । मन्त्रालयबाट सहमती पाएपछि मन्त्रीपरिषद्बाट पारित हुने भन्दै सचिव आचार्यले ठूलाठूला परियोजनामा लगानी गर्न अब कोषलाई बाटो खुल्ने बताए । भौतिक मन्त्रालयसँग सहकार्य गरेर इलेक्ट्रिकल बस, ¥यापिड मास ट्रान्जिटको अध्ययन सुरु गरेको र यसलाई अघि बढाउने उनको भनाइ छ । 

हाल नगर विकास कोषले ८८ वटा नगरपालिकामा १४ अर्ब २० करोड शहरी पूर्वाधार र खानेपानीमा लगानी गरेको छ । यसअघि कोशी र मधेश प्रदेशमा कार्यशाला आयोजना गरेको कोषले बुधबार  बागमती प्रदेशका निर्वाचित मेयर, प्रमुख प्रशासकीय अधिकृतहरुलाई ऋण र अनुदानमा बनाउन सकिने योजना, ऋण लगानी तथा असुली नीति लगायतका विषयमा जानकारी गराउन गोष्ठीको आयोजना गरेको कोषका उपप्रवन्धक सूर्य कार्कीले जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १६:२४
प्रतिक्रिया दिनुहोस्