‘नेपाल गोल्ड’ ब्राण्डको लुब्रिकेन्ट र ग्रिज नेपाली बजारमा

बिहीबार, चैत ९, २०७९

काठमाडौं–अटोमोबाइल पार्ट्स र अन्य व्यवसायको क्षेत्रमा प्रतिष्ठित सत्यदीप ग्रुपले खाद्य उद्योग तथा अक्सिजन ग्यास उत्पादन कार्यमा संलग्न एसबी ग्रुपसँग मिलेर ‘नेपाल गोल्ड’ ब्रान्डको लुब्रिकेन्ट र ग्रिज उत्पादन गरी नेपाली बजारमा उपलब्ध गराउने भएको छ ।

यी २ समूहको लगानीमा सञ्चालित युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिज प्रालिले धनुषाको ढल्केवर–३ लालभित्ती चोकमा ल्युब आयल ब्लेन्डिङ प्लान्ट सञ्चालन गर्ने अन्तिम तयारी गरिरहेको छ ।

२०८० वैशाख महिनादेखि नै ‘नेपाल गोल्ड’ ब्रान्डको लुब्रिकेन्ट र ग्रिज नेपाली बजारमा उपलब्ध हुने बताइएको छ । सत्यदीप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दीपेन्द्र मिश्रले भने, ‘सबै संरचना निर्माणको कार्य पूरा भइसकेको छ । वैशाखदेखि नयाँ नेपाली लुब्रिकेन्टको उत्पादन प्रारम्भ हुनेछ । हामी नेपाल गोल्ड लुब्रिकेन्ट उत्पादनको व्यग्र प्रतिक्षामा छौं ।’

युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिज प्रालिले २ बिघा ५ कठ्ठा क्षेत्रफलमा फैलिएको ल्युब आयल ब्लेन्डिङ प्लान्ट र अन्य संरचना निर्माण गरेको छ । यस क्षेत्रमा ६ वटा स्टोरेज ट्यांकी रहनेछन् र २ हजार केएल लुब्रिकेन्ट स्टोरेज गर्न सकिने छ । दैनिक रूपमा १५ हजार लिटर लुब्रिकेन्ट र १० हजार किलोग्राम ग्रिज उत्पादन गर्न सकिने छ ।

त्यसैगरी फिनिस्ड गुड राख्नका लागि २० हजार वर्गफिट क्षमताका २ वटा स्टोर रहनेछन् ।

बहुराष्ट्रिय कम्पनीहरूको उत्पादन भन्दा नेपालमा उत्पादन हुने नयाँ लुब्रिकेन्ट र ग्रिजको गुणस्तरमा कमी नहुने मिश्रको दाबी छ । अन्तर्राष्ट्रिय रूपमा उपलब्ध हुने एपीआई लगायतका विभिन्न गुणस्तर प्रमाण चिन्ह पाए बराबरको गुणस्तर यसमा हुनेछ । लुब्रिकेन्ट र ग्रिज उत्पादनका लागि आवश्यक उपकरण तथा अन्य कच्चा पदार्थ सबै गुणस्तरीय हुनेछन् ।

उद्योग स्थापनाका लागि करिव ५० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । 

नेपाल गोल्ड लुब्रिकेन्ट र ग्रिज प्याकिङका लागि लाग्ने बकेट र अन्य सामग्री समेत कम्पनी आफैले उत्पादन गर्नेछ । बजारमा २५० एमएलदेखि २१० लिटरसम्मको प्याकिङमा लुब्रिकेन्ट र ग्रिज उपलब्ध हुनेछ ।

नेपाल गोल्ड लुब्रिकेन्ट र ग्रिज उत्पादन भएपश्चात पहिलो चरणमा करिब ५० जनाले रोजगारी पाउनेछन् । यो नेपालको रोजगार क्षेत्रमा नयाँ अवसरसमेत हुनेछ ।
 

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  ११:५६
प्रतिक्रिया दिनुहोस्