चैत्र ६ मा प्रधानमन्त्रीले विश्वासको मत लिने, त्यसपछि मन्त्रिपरिषद् विस्तार

बुधबार, चैत १, २०७९

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपराष्ट्रपतिको निर्वाचन पछि विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले ६ चैत्रमा विश्वासको मत लिने तयारी गरेका छन् । उपराष्ट्रपति पदको निर्वाचन ३ चैत शुक्रबार हुँदैछ ।

शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलका शीर्ष नेताहरूले ६ चैतमा  विश्वासको मत लिने विषयमा समझदारी गरेका छन् । 

नेकपा (एमाले) ले प्रत्रानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएसँगै उनी नेतृत्वको सरकार अल्पमतमा परेको हो ।

यस्तै, प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तारको तयारी पनि गरेका छन् । 

नेपाली कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डले ६ चैतमा विश्वासको मत लिने जनाएको छ । प्रधानमन्त्री दाहालले विश्वासको मत लिएपछि मात्रै आफूहरू सरकारमा जानेबारे छलफल हुने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जनाएका छन् ।

केन्द्रीय कार्यालयमा बुधबार बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठक पछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्त प्रकाशशरण महतले प्रधानमन्त्रीले विश्वासको मत लिए पछि मात्रै आफूहरू सरकारमा जाने बताए । ‘सम्भवतः ६ चैतमा प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ । यसबारे गठबन्धनका दलहरूबीच छलफल जारी छ । त्यसपछि कांग्रेस सरकारमा जान्छ’, महतले भने ।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १४:१८
प्रतिक्रिया दिनुहोस्