‘होटल हव’को रूपमा विकास हुँदै नेपालगन्ज 

शनिबार, फागुन २७, २०७९

खजुरा– पश्चिम नेपालको आर्थिक केन्द्र मानिएको बाँकेको नेपालगन्ज ‘होटल हव’को रूपमा विकास हुँदैछ । नेपालगन्जबाट हुम्ला सिमिकोट हुँदै तिब्बतको मानसरोबर पुग्ने छोटो बाटो भएका कारण खासगरी भारतीय पर्यटक बढ्न थालेसँगै यहाँ होटल व्यवसायमा लगानी बढेको हो । 
    
व्यवसायीका अनुसार बाँकेको नेपालगन्ज र कोहलपुर क्षेत्रमा होटल व्यवसायमा रु १२ अर्बभन्दा बढी लगानी भएको छ । यसअघि सञ्चालनमा आएका होटललाई पनि स्तरोन्नति गरेर लगानी बढाउने क्रम जारी छ । होटल व्यवसायी सङ्घका अनुसार जिल्लाभरि साना ठूला होटलमा पाँच हजार कोठा छन् भने एकै पटक १० हजार जनासम्मलाई राख्न सकिने क्षमता छ । साना होटलसँगै जिल्लामा ठूलो लगानीमा तारे होटल खोल्ने क्रम बढेको छ । लुम्बिनी प्रदेशमा तीन होटलले पाँचतारेको मान्यता पाउँदा बाँकेमा दुई वटा पाँचतारे होटल खुलिसकेका छन् । चारतारे दुई, बाँकी तिनतारे र अन्य सुविधासम्पन्न पर्यटकस्तरीय होटल छन् । 

मानसरोवर मात्र नभएर नेपालगन्जदेखि हुम्ला, डोल्पा, खप्तड, रारामा पदयात्रा सुरु भएपछि तेस्रो मुलुकका पर्यटक पनि आउन थालेका व्यवसायी बताउँछन् । होटल बढ्दै जाँदा व्यवसायी होटल स्तरोन्नतिका साथै थप सेवा विस्तारमा लागेकोे सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीका प्रबन्धक केशव न्यौपानेले बताए ।

आफूहरूले पनि दुई हजार जना अट्ने नेपालगन्जकै सबैभन्दा ठूलो हल बनाइसकेको उनले जानकारी दिए । नेपालगन्ज र कोहलपुर बजारको दृश्यावलोकन गर्न मिल्ने होटलको आठ तलमाथि रुफटप रेस्टुराँ सञ्चालन गरिरहेको उनको भनाइ छ । होटलमा व्यवसायीको लगानी बढे पनि सरकारका तर्फबाट लगानी सुरक्षाको वातावरण नभएको भन्दै उनीहरू चिन्तित छन् । सरकारले पर्यटनतर्फ आकर्षण गर्ने कार्यक्रम घोषणा गरेअनुसारको कुनै गतिविधि नभएकाले पर्यटक बढ्नेमा खासै आशावादी नरहेको कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजाका प्रबन्धक देवानन्द अर्यालले बताए । उनका अनुसार पश्चिममा थुप्रै पर्यटन सम्भावना रहेकाले विकासका लागि सरकारको ध्यान जानुपर्ने देखिन्छ । 

बाँकेमा पर्यटन व्यवसायको ठुलो सम्भावना छ । यहाँका पर्यटकीयस्थलको उचित संरक्षण सम्बद्र्धन हुनसकेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको आकर्षणको केन्द्र बन्न सक्छ । पश्चिम नेपालकै प्रसिद्ध धार्मिकस्थल बागेश्वरी मन्दिर, बाघ संरक्षण गर्ने उद्देश्यले स्थापित बाँके राष्ट्रिय निकुञ्ज, विभिन्न तालतलैया, वाटरपार्क, गाभर उपत्यका होमस्टेमा विभिन्न समुदायका संस्कृति, प्राङ्गारिक कृषि प्रणाली, जैविक पार्कलगायत पर्यटक घुम्नलायक थुप्रै मनमोहक दृश्य छन् । जसको संरक्षण र सम्वद्र्धन गर्दै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकियो भने जिल्लाको समृद्धिको आधार तय गर्न पर्यटन क्षेत्रले टेवा दिने देखिन्छ । 

जिल्लामा धार्मिक पर्यटनको ठूलो सम्भावना छ । यहाँ बागेश्वरी, जङ्गेश्वर महादेव, सङ्कटमोचन हनुमान मन्दिर, जामा मस्जिद, इदगाहा मस्जिद, कर्बला, गुरुद्वारा, सरस्वती मन्दिर, बौद्ध गुम्बाजस्ता विभिन्न धर्म संस्कृतिका आस्थाका केन्द्र रहेको धर्मगुरु बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले बताए । त्यस्तै अन्य पर्यटकीयस्थलमा महेन्द्रपार्क, रानी तलाउ, बोटिङ विहार, वाटरपार्क आदि पर्यटकका गन्तव्यस्थल हुन् । बाँके राष्ट्रिय निकुञ्ज, कोहलपुर गोलपार्क, ढकेरी वनभोज क्षेत्र, सिक्टा पनि पर्यटनको रोजाइमा पर्दछन् । पछिल्लो समय पर्यटक आकर्षित गर्न यहाँ निजी क्षेत्रको लगानी बढ्दै गएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्य बताउँछन् । 

पर्यटक आकर्षित गर्न यहाँका विभिन्न स्थानमा करिब रु डेढ अर्बको लगानीमा तीनवटा वाटरपार्क सञ्चालनमा रहेको छ । नेपालगन्ज उपमहानगरपालिका–१२ स्थित बाले गाउँमा मानसरोवर एम्युजमेन्ट पार्क एण्ड रिसोर्टले ‘नेपालगञ्ज थ्रिलर जोन’ वाटर पार्क निर्माण गरेको यसका सञ्चालकले जानकारी दिएका छन् । त्यस्तै राँझा विमानस्थल नजिकै ‘वन्डरल्याण्ड वाटर पार्क’ निर्माण भएको छ । अर्को कोहलपुरको हवलदारपुरमा मानसरोवर होलिडेइनमार्फत वाटर पार्क र मनोरञ्जन केन्द्र निर्माण भएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  ०८:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मौलिकता गुमाउँदै घान्द्रुक
शनिबार, फागुन २७, २०७९