कोरियामा सीप सिकेर नेपालमा उद्यम

मंगलबार, फागुन २३, २०७९

नवलपुर– वैदेशिक रोजगारका लागि दैनिक हजारौँको संख्यामा नेपालीहरू विदेश जान्छन् । वैदेशिक रोजगारीमा गएकामध्ये निकै कमले मात्रै त्यहाँ आफूले सिकेको सीप नेपाल फर्किएर प्रयोग गर्छन् । 

वैदेशिक रोजगारका क्रममा १५ वर्ष दक्षिण कोरिया बसी फर्किएका इभान गिरीले अहिले फ्रोजन ममको व्यवसाय सुरु गरेका छन् । 

उनले यसरी बनाएको मम रेस्टुरेन्ट, होटल, क्यान्टिनलगायतमा बिक्री गर्दै आएका छन् । 

उनी यतिबेला नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सुरु भएको प्रथम गण्डकी औद्योगिक व्यापार मेलामा आफ्नो उत्पादनको बजारीकरणमा खटिएका छन् । 

चितवनको भरतपुर–५ तोरीखेतका गिरी कोरियामा छँदा मासिक ३ लाख रुपैयाँ आम्दानी गर्थे । गिरी आफू उद्यमी मात्रै बनेनन्, कम्पनीमा ८ जनालाई रोजगारी पनि दिएका छन् । 

भरतपुर–५ शान्तिचोकमा ‘उरी मम’ कम्पनी सञ्चालन गरेका उनले कोरियन भाषाको ‘उरी’को अर्थ हाम्रो भएको बताए ।

‘हामीले स्वचालित मेसिनबाट चिकेन, बफ र भेज मम उत्पादन गरेर विभिन्न डिपार्टमेन्ट स्टोर, रेस्टुरेन्ट, होटल तथा क्यान्टिनमा बिक्री गरिरहेका छौँ,’ गिरीले भने, ‘ २० लाख रुपैयाँ लगानी गरी सुरु गरेको कम्पनीमा अहिले लगानी १ करोड पुगेको छ ।’ 

कोरियामा छँदा खाद्य उद्योगमा काम गरेका उनी नेपालमै केही गर्ने उद्देश्यले ५ वर्षअघि फर्किएका थिए । सन् २०१८ मा नेपाल फर्किएपछि उनले कम्पनी सञ्चालनको प्रक्रिया सुरु गरे । 

सुरुमा गिरी दम्पतीले मात्रै कम्पनी सञ्चालन गरेकामा पछि लगानी बढ्दै जाँदा कर्मचारी पनि थपिएको उनको भनाइ छ ।

कोरियन प्रविधि प्रयोग गरी उत्पादन गरिएको मम फ्रोजन गरी होलसेल तथा खुद्रा बिक्री गर्दै आएको गिरीले बताए ।

‘मेसिनबाट उत्पादन हुने मम फ्रोजनका लागि डिफ्रिजमा राख्नुपर्छ । छिट्टै फ्रोजन भएको मम राम्रो हुन्छ,’ गिरीले भने ।

‘फ्रोजन ममबारे आमउपभोक्तामा गलत धारणा भएका कारण कतिपय होटल, रेस्टुरेन्ट तथा क्यान्टिनहरूले हाम्रो उत्पादन लुकाएर बिक्री गर्ने गरेका छन्,’ गिरीले भने, ‘हाम्रो मम ग्राहकले मन पराएका छन् । तर, रेस्टुरेन्टहरूले फ्रोजन मम हो भनेर बिक्री गर्न सकेका छैनन् ।’

उनले कम्पनीसँग दैनिक ५ हजार प्लेट मम उत्पादनको क्षमता भए हाल दैनिक २ हजार प्लेट उत्पादन भइरहेको बताए । ‘ममको बजारका लागि समस्या छैन, चितवनसहित नवलपुर, मकवानपुर, तनहुँ र पाल्पाको रामपुर पु¥याउँदै आएका छौँ,’ उनले भने ।

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १४:५२
प्रतिक्रिया दिनुहोस्