टस जितेर ब्याटिङ गर्दै नेपाल, टोलीमा एक परिवर्तन

सोमबार, फागुन २२, २०७९

काठमाडौँ– आइसिसी विश्वकप लिग– टू अन्तर्गतको सिरिजको अन्तिम खेलमा अहिले नेपालले घरेलु टोली युएईसँग खेल्दैछ । 

यसैबीच, नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका छन् । यसअघि प्रायः हरेक खेलमा उनले पहिले फिल्डिङ गर्ने निर्णय गर्ने गरेका थिए ।

पिचको अवस्था हेरेर उनले ब्याटिङ गर्ने निर्णय गरेको बताइएको छ । किनकि, केही समयअघि मुख्य प्रशिक्षक मोन्टी देसाई र रोहित पिच हेर्न गएका थिए ।

नेपाली टोलीमा आज एक परिवर्तन भएको छ । कुशल भुर्तेलको स्थानमा प्रतिश जिसीले पहिलोपटक मौका पाएका छन् ।

यस सिरिजको अन्तिम खेलमा नेपालले युएईको सामना गर्न लागेको हो । नेपाल र दुएईबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान पौने १२ मा सुरु हुनेछ । पहिलो खेलमा नेपाल युएईसँग पराजित भएको थियो । यसर्थ, नेपाल आज त्यसको बदला लिने दाउमा छ ।

नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकका साथ तालिकाको छैटौँ स्थानमा रहेको छ । युएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकका साथ पाँचौँं स्थानमा छ ।

सबै खेल जिते नेपालको अझै पनि विश्वकपमा छनोट हुने सम्भावना छ । यद्यपि, यो अरुको नतिजामा पनि भर पर्छ । एकदिवसीय मान्यता जोगाइराख्न नेपालले कम्तीमा पाँचौँ स्थानमा लिग सक्नुपर्ने छ । यसर्थ, आज युएईविरुद्धको खेल नेपालका लागि महत्वपूर्ण छ । 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  ११:२४
प्रतिक्रिया दिनुहोस्