नेभिगेशन
समाज विविध

बिर्तामोड नगर अस्पताल भवन सम्पन्न

बनियानी– झापाको बिर्तामोड नगरपालिकामा साढे पाँच करोडको लागतमा नगर अस्पताल भवन निर्माण सम्पन्न भएको छ ।

संघीय सरकारको रू पाँच करोड ५० लाख सात हजार सात सय ६० लागतमा १५ शैय्याको नगर अस्पताल भवन निर्माण भएको हो । भवन निखिल निर्माण सेवा प्रालिले निर्माण गरेको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौनोपाले जानकारी दिए । 

नगरपालिकाले स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेको  नगरप्रमुख पवित्रा महतरा प्रसाईंले जानकारी दिए । उनले भने, ‘हरेक नगरवासीमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ लागेका छौँ ।’

नगर अस्पतालबाट २१ प्रकारका सेवा प्रवाह हुने छन् । नगर अस्पतालबाट  स्वास्थ्य बिमासहित दैनिक बहिरंग, प्रयोगशाला, भिडियो एक्स–रे, इसिजी, प्रसुति, एक्स–रे लगायतका सेवा प्रवाह हुने नगर अपस्तालका नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा सुनिल अधिकारीले बताए । ‘विश्वसनीय र गुणस्तरीय सेवा प्रदान गर्छौं’, उनले भने, ‘विशेष परिस्थिति बाहेक रिफर दिइने छैन ।

नगर अस्पतालका हाल ३६  जनशक्ति व्यवस्थापन भइसकेको छ । एक जना विशेषज्ञसहित तीन  मेडिकल अधिकृत, प्यारामेडिक्स १२, नर्स सात, प्रयोगशालामा चार, रेडियोग्राफर एक, प्रशासन कर्मचारी एक, कार्यालय सहयोगी चार, सरसफाइ कर्मचारी दुई र सुरक्षा गार्ड एक  गरी ३६ जनशक्ति व्यवस्थापन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत राजिव विष्टले जानकारी दिनुभयो ।

अस्पताल परिसरमा थप रू १८ करोड ५० लाखको लागतमा भवन निर्माणको तयारी भइरहेको छ । भवनसँगै क्रमशः अस्पतालबाट प्रवाह हुने सेवा विस्तार गरिने जनाइएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध