आर्मीको गार्ड लिएर घुम्दैमा सरकार हुँदैन : उपेन्द्र यादव

बुधबार, फागुन १७, २०७९

जनकपुर–जनता समाजवादी पार्टी, नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावलगत्तै २ वटा ऐन पारित गराउन पहल नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् । 

संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन तत्काल ल्याउनुपर्ने बताउँदै उनले सरकारको भविष्य यसैमा निर्धारण हुने बताएका हुन् ।

जनपुरधाममा बुधबार मधेस प्रज्ञा प्रतिष्ठानको उद्घाटन गर्दै अध्यक्ष यादवले संघीय सरकारले तत्काल यी २ विधेयक पारित गर्नुपर्ने बताएका हुन् ।

उनले संघीय निजामती ऐन यथाशीघ्र पास गरेर प्रदेश कर्मचारीतन्त्र स्थापित गर्नुपर्ने र प्रहरी समायोजन गरेर प्रदेशलाई हस्तान्तरण गर्न अवश्यक भएको बताए ।

प्रदेश सरकारको आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र स्रोत साधन नहुँदा चाहेअनुसार काम गर्न नसकेको उनको भनाइ छ ।

‘एउटा आर्मीको गार्ड लिएर घुम्नाले सरकार हुँदैन । आफ्नो प्रहरी प्रशासन, कर्मचारी, कानुन, अदालत र स्रोत चाहिन्छ,’ यादवले भने । उनले अब पूर्वदेखि पश्चिमसम्मको मधेसका लागि संघर्ष हुनेसमेत बताए ।

फरक प्रसंगमा उनले नेपाल र नेपाली भाषाभन्दा सयौँ वर्ष पुरानो इतिहास रहे पनि मिथिला र मैथिली संस्कृति लोप हुँदै जानु दुर्भाग्यपूर्ण रहेको बताए । 

प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकासमन्त्री सुरिताकुमारी साह, अर्थमन्त्री सञ्जयकुमार यादव, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा। रामकेवल साह, सामाजिक विकास मन्त्रालका सचिव लक्ष्मी भट्टराई, मधेस सरकारका मुख्यन्यायाधिवक्ता वीरेन्द्र ठाकुर, प्रष्ठिानका सदस्यद्वय गोपाल ठाकुर र दिनेश यादवलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १५:४०
प्रतिक्रिया दिनुहोस्