नेभिगेशन
समाज विविध

विद्यार्थीलाई संस्कार सिकाउने अभियान

झापा– धर्म, संस्कृति, नैतिकता र संस्कार पढाउन यहाँका २५ स्थानमा संस्थागत रूपमै अनौपचारिक कक्षा सञ्चालन भइरहेका छन् ।

जनकल्याण प्रतिष्ठान एकल अभियान नेपालले जिल्लाको भद्रपुर, शिवसताक्षी नगरपालिका, अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिका र हल्दीबारी गाउँपालिकामा एकल विद्यालय अभियानअन्तर्गत विद्यालय जाने उमेरका बालबालिकालाई त्यस्तो कक्षामा सहभागी गराउँदै आएको छ ।

विद्यालयमा औपचारिक शिक्षा पाइरहेका विद्यार्थीलाई उनीहरूको बिहान र बेलुकाको उपयुक्त समय मिलाएर संस्कारयुक्त शिक्षा प्रदान गर्न एकल विद्यालय अभियान सञ्चालन गरिएको जनकल्याण प्रतिष्ठान एकल अभियानका जिल्ला अध्यक्ष शंकर भट्टराईले बताए ।

जिल्लाका २५ वटै कक्षाका लागि अध्ययन गर्ने स्थान, कापी, किताब र शिक्षकको व्ययभार प्रतिष्ठानले बेहोर्दै आएको उनले जानकारी दिए । प्रतिष्ठानले शिक्षकलाई मासिक पारिश्रमिक दिँदै आएको छ ।

एकल विद्यालयमा विद्यार्थीलाई ध्यान र योग सिकाउनुका साथै मातापिता र अग्रजलाई गरिने आदर व्यवहारका बारेमा संस्कारयुक्त ज्ञान दिइने गरिएको अभियानका शिवसताक्षी प्रमुख पीताम्बर बरालले बताए ।

नैतिकता, संस्कार, भाषा, गणित, सामान्य ज्ञान, विज्ञान, हस्तशिल्प, स्वास्थ्य र शारीरिक शिक्षासमेत एकल विद्यालयमा पढाइने उनले जानकारी दिए ।

प्रतिष्ठानका जिल्ला अध्यक्ष भट्टराईका अनुसार २७ वर्षअघि धादिङको एउटा गाउँमा २८ विद्यार्थी पढाएर नेपालमा एकल विद्यालय अभियान प्रारम्भ भएको थियो । अहिले देशभर ४६ जिल्लाका ५०१ गाउँमा यस्तो संस्कार सिकाउने कक्षा सञ्चालन भइरहेका छन् ।

एकल विद्यालयमा अध्यापन गर्ने शिक्षकलाई आर्थिक स्रोतको अभावमा पर्याप्त पारिश्रमिक दिन नसकिएको उनले बताए । एउटा कक्षा सञ्चालन गर्न वार्षिक न्यूनतम ३६ हजार रुपैयाँ अतिरिक्त खर्च हुने गरेको बताइएको छ ।

शिवसताक्षी– ४ का वडाध्यक्ष विष्णु प्रसाईंले एकल अभियानको कक्षामा नियमित जाने विद्यार्थी नैतिक अनुशासन र संस्कार पालनामा उदाहरणीय हुने गरेकामा प्रसन्नता प्रकट गरे । 

‘मातापिता र अग्रजप्रति कसरी राम्रो व्यवहार गर्ने कुरा नानीबाबुले एकल विद्यालयमा सिक्न पाएका छन्,’ वडाध्यक्ष प्रसाईंले भने, ‘योग र धर्मको आधारभूत ज्ञान पाउँदा उनीहरूमा विनम्रताको विकास हुँदोरहेछ भन्ने अभिभावकले पनि बुझ्नुभएको छ ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध