केपी ओली कप : सेमिफाइनलमा आर्मी र मच्छिन्द्र

शुक्रबार, फागुन १२, २०७९

काठमाडौँ –विभागीय टोली त्रिभुवन आर्मी क्लव र मच्छिन्द्र फुटबल क्लव राजधानीमा जारी केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको दिनको पहिलो खेलमा आमीले न्युरोड टिम (एनआरटी)लाई पेनाल्टी सुट आउटमा पराजित गर्दा शुक्रबारकै दोस्रो खेलमा चर्चब्वाइजलाई हराउँदै मच्छिन्द्र अन्तिम चारमा प्रवेश गरेका हुन् ।

पहिलो खेल एनआरटी र आर्मीले निर्धारित ९०  मिनेट १–१ गोल गरेपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको हो । पेनाल्टी सुटआउटमा ५–४ को रोमाञ्चक जित निकाल्दै आर्मी अन्तिम चारमा पुग्न सफल भएको हो । 

निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबीच निकै प्रतिष्पर्धात्मक खेल भएको थियो । 

पेनाल्टी सुटआउटबाट अघिल्लो चरण प्रवेश गरेको आर्मीले सातदोबाटो युथ क्लवसँग फाइनल प्रवेशका लागि भिड्नेछ ।

प्रतियोगिता अन्तर्गत शुक्रबार नै भएको दिनको दोस्रो खेलमा मछिन्द्र फुटबल क्लवले चर्च ब्वाइज युनाईटेडलाई २–१ गोल अन्तरले हराउँदै अन्तिम चारमा पुगेको हो । मछिन्द्रलाई जित दिलाउन प्लेयर अफ दि म्याच चुनिएका कप्तान सुजल श्रेष्ठ र रञ्जित धिमालले एकएक गोल गरे भने उपहार गोलबाट चर्चब्वाईजले अग्रता छोट्याएको थियो । 

प्रतियोगितामा शनिबार आयोजक केपी ओली फुटबल क्लव र जावलाखेल युथ क्लवबीच प्रतिस्पर्धा हुनेछ ।  
 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १८:२९
प्रतिक्रिया दिनुहोस्