नेपालको फ्लप ब्याटिङमा कसरी भयो चमत्कार ?

सन्दीपको कमब्याक र देसाईको ढाडस नै टिमको भरोसा
बिहीबार, फागुन ११, २०७९

काठमाडौँ– ठिक १ वर्षअघि नेपाली क्रिकेटको कथा अर्कै थियो । २०७८ फागुन १० गते नेपाल टी–२० विश्वकपमा छनोट हुन असफल भएको थियो । 

८ वर्षपछि पुनः विश्वकपमा पुग्ने सो निर्णायक खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भयो । 

ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा भएको सो खेलमा नेपालले युएईविरुद्ध बलिङ र ब्याटिङ दुवैमा अपेक्षाकृत प्रदर्शन गर्न सकेको थिएन । युएईविरुद्ध १७६ रनको लक्ष्य पछ्याएको नेपालले १८.४ ओभरमा सबै विकेट गुमाएर १०७ रन मात्र बनाउन सक्यो ।

ग्लोबल क्वालिफायरमा आफ्नो समूहका सबै खेल जितेर सेमिफाइनल पुगेको नेपाल युएईसामु निरीह बनेको थियो । विश्वकप छनोटको नजिक पुगेर नेपाल पुनः विश्वकप खेल्नबाट वञ्चित भएको थियो । 

युएईविरुद्धको सो निर्णायक खेलमा विशेष गरी नेपाली ब्याट्सम्यानले बिर्सन लायक प्रदर्शन गरेका थिए । 

त्यसयताका हरेक सिरिजमा नेपालले कुनै खेल जित्यो भने त्यो जित बलरकै कारण सम्भव भएको हुन्थ्यो ।

गत भदौमा नेपाली क्रिकेटका लागि ठुलो बज्रपात जस्तै भयो । प्रमुख बलरसमेत रहेका कप्तान सन्दीप लामिछानेमाथि एक किशोरीले बलात्कारको आरोप लगाइन् । १ महिनापछि पक्राउ परेका सन्दीप हिरासत हुँदै पुर्पक्षका लागि जेल चलान भए ।

त्यसपछि रोहितकुमार पौडेल कप्तान भए । नेपालका लागि आइसिसी विश्वकप क्रिकेट लिग–२ महत्वपूर्ण प्रतियोगिता हो । यसका २ कारण छन्– एउटा, यो एक दिवसीय विश्वकपमा छनोट हुने प्रमुख खुड्किलो हो । अर्को, नेपालले २०१८ मा पाएको मान्यता जोगाइराख्न लिग–२ महत्वपूर्ण छ । 

cric (3)1677150910.png

यस्तो चुनौतीका बीच सन्दीप लामिछानेको अनुपस्थितिमा नेपालले गत मंसिरमा नामिबियाको भ्रमण गर्‍यो । नामिबिया र स्कटल्यान्ड सम्मिलित उक्त त्रिकोणात्मक सिरिजमा नेपालले बिर्सन लायक प्रदर्शन गर्‍यो । ४ मध्ये ३ खेलमा नेपाल भारी अन्तरले पराजित भयो । 

पानी परेका कारण एउटा खेल हुन नसकेपछि अंक बाँडियो । यो सिरिजमा नेपालको ब्याटिङ पूरै फ्लप रह्यो । सन्दीपको अनुपस्थितिमा बलिङ पनि चल्न सकेन । केही समयपछि प्रशिक्षक मनोज प्रभारकरनले राजीनामा नै दिएर गए । 

२०७६ माघमा लिग–२ को पहिलो शृंखला खेलेयता नेपाली राष्ट्रिय क्रिकेट टोलीले ४ जना प्रशिक्षक परिवर्तन गर्‍यो । छुट्टै ब्याटिङ प्रशिक्षक नियुक्त भए, तर ब्याटिङ सुध्रिन सकेन । 

फेरिएको कथा

माथि उल्लेखित रेकर्ड अब पुरानो कथा भयो । अहिले नेपाली क्रिकेटको कथा फेरिएको छ । विशेष गरी ब्याटिङको । 

भर्खरै घरेलु मैदानमा सम्पन्न लिग–२ कै शृंखलामा नेपालको ब्याटिङ लाइनअपले चामत्कारिक प्रदर्शन गर्‍यो । तुलनात्मक बलियो टोली रहेको लिग–२ च्याम्पियन स्कटल्यान्ड र नामिबिया सम्मिलित सिरिजमा नेपालले सबै ४ खेल जितेर क्लिन स्विप गर्‍यो ।

प्रायः सधैँ ‘फ्लप’को ट्याग भिर्ने गरेका ब्याटसम्यानहरूले धेरै सुधारिएको प्रदर्शन गर्दै जितका लागि निर्णायक बने । 

फागुन २ मा भएको नामिबियाविरुद्धको पहिलो खेलमा करण केसी र सन्दीप लामिछानेले क्रमशः ५ र ३ विकेट लिनुका बाबजुद नेपालले २८६ रनको विशाल लक्ष्य पायो ।

नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर अविश्वसनीय रूपमा लक्ष्य भेट्टायो । कीर्तिमानी जित निकाल्ने क्रममा नेपालले एक दिवसीय खेलमा पहिलो सर्वाधिक विशाल योगफल भेट्टाएको हो ।

यसअघि नेपालले सन् २०१९ मा एक दिवसीय सिरिजमा युएईविरुद्ध २५५ रनको विशाल योगफल भेट्टाएको थियो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेल नायक बने । उनले शतकीय पारी खेल्दै ११५ रन बनाए । कप्तान रोहित पौडेलले पनि निर्णायक भूमिका खेले । उनले अर्धशतकीय पारी खेल्दै ७२ रन बनाउन सफल भए । 

यस्तै, नेपालले फागुन ५ मा लिग–२ को विजेता समेत रहेको बलियो स्कटल्यान्डसँग खेल्यो । सन्दीपले किफायती बलिङ गरेर ३ विकेट लिनुका बाबजुद पनि स्कटल्यान्डले २७५ रनको ठुलो लक्ष्य दियो ।

दीपेन्द्रसिंह ऐरीले अविजित ८५ र कुशल मल्लले ८१ रन जोडेपछि नेपालले ४७ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो । 

यसैगरी, फागुन ६ गते नेपालले आफ्नो तेस्रो खेल नामिबियासँग खेल्यो । नामिबियाले २७५ रनको ठुलो लक्ष्य दियो । नेपालले ४७.३ ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

cric (2)1677150910.png

ओपनर आसिफ शेखले सर्वाधिक ८१, पूर्वकप्तान ज्ञानेन्द्र मल्लले ६५, कुशल मल्लले ६२ र कप्तान रोहित पौडेलले ३९ रन बनाए ।

आरिफ र ज्ञानेन्द्रले १३९ रनको साझोदारी गरे । यो पनि एउटा कीर्तिमान हो । 

त्यस्तै, चौथो तथा अन्तिम खेलमा फागुन ९ मा नेपालले बलियो प्रतिद्वन्द्वी स्कटल्यान्डको सामना गर्‍यो । सन्दीप र करणले उत्कृष्ट बलिङ गरेपछि स्कटल्यान्डको ब्याटिङ धर्मरायो ।

सन्दीपले ४ र करणले ३ विकेट लिएपछि स्कटल्यान्ड २१२ रनमै समेटिएपछि नेपालले २१३ रनको मध्यम लक्ष्य पायो ।

यो खेल नेपालले सजिलै जित्ने अपेक्षा थियो । तर, त्यस्तो भएन । नेपालले १८.४ ओभरमा ६१ रन मात्र भएको अवस्थामै ५ विकेट गुमाइसकेको थियो । यसरी हारनजिक रहेको अवस्थामा पनि कप्तान रोहितले सम्हालिएर प्रदर्शन गरे । उनलाई करणले साथ दिए ।

८ विकेट गुमाइसकेको अवस्थामा पनि २ ब्याट्सम्यानले सम्हालिएर खेलेपछि नेपालले ४४.१ ओभरमै लक्ष्य भेट्टायो ।

रोहितले अविजित ९५ तथा करणले अविजित ३१ रनको योगदान दिए । यो सिरिजपछि नेपालको ब्याटिङ लाइन सुध्रिएको विश्लेषण गर्न सकिन्छ ।

के छन् कारण ?

२०७६ माघमा लिग–२ पहिलो शृंखला खेलेयता नेपालले पाँचौँ पटक प्रशिक्षक परिवर्तन गरेको छ । अहिले भारतका मोन्टी देसाई प्रमुख प्रशिक्षक छन् । 

नेपालको ब्याटिङ लाइनअप सुध्रिनुमा प्रशिक्षक देसाई प्रमुख कारण भएको विश्लेषण गरिएको छ ।

गत माघ १४ मा देसाई नेपाली टोली सम्हाल्न आएका थिए । यो शृंखला उनका लागि पहिलो हो । तर, पहिलो शृंखलामै उनले अद्भूत सफलता दिलाएका छन् ।

Monty-Desai-Nepal-Head-Coach-20231677151453.jpg

यसरी सफलता दिनुमा उनले ड्रेसिङ रुमको वातावरण सुधारेको बताइएको छ । उनले ब्याटिङ सुधारका लागि खेलाडीहरूलाई मोटिभेसन गरेको बताइन्छ ।

उनले खास गरी कठिन परिस्थितिमा पनि कसरी सम्हालिएर खेल्ने र सिंगल रन कसरी लिएर क्रिजमा टिकिराख्नेलगायत टिप्स दिएको नेपाल क्रिकेट संघ (क्यान) का अधिकारीहरू बताउँछन् । 

सन्दीपको ‘कमब्याक’

उच्च अदालत, पाटनको आदेशपछि गत पुस २९ मा सन्दीप लामिछाने रिहा भए । त्यसपछि उनी राष्ट्रिय टोलीमा फर्किएका छन् । ३ महिना जेल बसेर फर्किएका सन्दीपले पुरानो लय गुमाएको हुन सक्ने अनुमान थियो ।

तर, उनी मैदानमा पुरानै लयमा फर्किएका छन् । धेरैतिरको दबाब र तनावका बीच उनले पहिलो खेलमै ३ विकेट लिए ।

cric (4)1677150911.png

त्यसपछिका दुवै खेलमा इकोनमी समेत सुधार गर्दै लगातार ३–३ विकेट लिए । अन्तिम खेलमा त उनले झनै उत्कृष्ट प्रदर्शन गरे । स्कटल्यान्डका खतरनाक मानिएका दुवै ओपनरलाई आउट गरे । ४ विकेट लिएर स्कटल्यान्डलाई २१२ रनमै सीमित गर्नमा ठुलो योगदान दिए ।

सन्दीपको सुखद् पुनरागमनले टोलीको हौसला बढेको बताइएको छ । विशेष गरी उनको आगमनले बलिङ लाइनअप बलियो भएको छ । बलिङ लाइनअप बलियो हुनु भनेको ब्याटिङलाई फाइदा पुग्ने स्वतः विश्लेषण गर्न गाह्रो हुन्न ।

सन्दीपको आगमन र उनको उत्कृष्ट प्रदर्शनले टोलीको हौसला बढेको र ४ वटै खेल जित्न सफल भएको कप्तान रोहितले नै स्वीकारेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १६:५४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार