संगठनबिनाका नेता

स्ववियु चुनावको मुखमा पनि अध्यक्षको भरमा  नेविसंघ

बिहीबार, फागुन ११, २०७९

काठमाडौँ– महाधिवेशनपछि गत वर्षको फागुन ३ गते विघटन भएको नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ समिति अझै गठन हुन सकेको छैन ।

गत (२०७८) फागुनमा नै तदर्थ समिति गठन गर्ने निर्णय गरेर फागनु ३ गते बसेको कांग्रेस बैठकले भातृ संगठनहरू विघटन गरेको थियो । तदर्थ समिति गठन गर्ने निर्णय भएको १ वर्ष बितिसक्दा पनि अझै नेविसंघको तदर्थ समिति गठन भएको छैन ।

आउने चैत ५ गते स्ववियु निर्वाचनको घोषणा भएको छ । स्ववियु निर्वाचनको मिति नजिकिँदै जादा हालसम्म नेविसंघले पूर्णता पाएको छैन ।

नेविसंघले नै पूर्णता नपाएको अवस्थामा कसरी स्ववियु निर्वाचनमा जाने भन्ने विषय अन्योल भएको नेविसंघका एक नेताले सुनाए । 

‘अनेरास्ववियुले नयाँ नेतृत्व पाइसकेको छ, उनीहरूलाई स्ववियु निर्वाचनमा जान सहज छ । हाम्रो अहिलेसम्म केन्द्रीय कमिटी पनि विस्तार हुन सकेको छैन, कहिले तल्लो तहका कमिटी बनाउनु र कहिले स्ववियु निर्वाचनको तयारी गर्नु ?,’ उनले भने ।

२०६५ देखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक चैत ५ गते हुने भएको छ । त्रिविले शैक्षिक क्यालेन्डरमै फागुन १४ गतेलाई स्ववियु निर्वाचनको मिति तोकेको छ । २०६५ पछि २०७३ मा केही क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । 

प्रत्येक २/२ वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुन सकेको छैन । २०६५ चैत ६ गतेपछि एकै पटक ८ वर्षमा २०७३ चैत १५ गते चुनाव भएको थियो । त्यतिबेला त्रिविका ६२ आंगिक क्याम्पसमध्ये रत्नराज्य क्याम्पस (आरआर), जनप्रशासन क्याम्पससहित उपत्यकाका ९ वटा आंगिक र उपत्यकाबाहिरका १७ वटा क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो ।

‘राष्ट्रपतिको मनोनयन दर्तापछि नेविसंघले पूर्णता पाउँछ’

नेपाली कांग्रेसका नेता मनोजमणि आचार्य केही दिनभित्र नेविसंघको तदर्थ समितिले पूर्णता पाउने बताउँछन् ।

सिएन नेपालसँगको कुराकानीमा आचार्यले राष्ट्रपतिको मनोनयन (फागुन १३) पछि नेविसंघको तदर्थ समिति गठन हुने जानकारी दिए । 

‘राष्ट्रपतिको निर्वाचनले अहिले अप्ठ्यारो पारेको हो । १३ गते राष्ट्रपतिको मनोनयन दर्ता सकिएपछि नेविसंघको तदर्थ समिति गठन हुन्छ, त्यो समितिमा पहिले स्ववियु निर्वाचन सहभागी हुन्छ । त्यसपछि महाधिवेशनको तयारी गर्छ,’ नेता आचार्यले भने । 

आचार्यका अनुसार नेविसंघको तदर्थ समिति २०० जनाको हुने अनुमान गरिएको छ । तदर्थ समितिको आन्तरिक तयारी भइरहेको आचार्यको भनाइ छ ।

हाल नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघ १ सदस्यीय छ । सभापति देउवाकानिकट दुजाङ शेर्पा अध्यक्ष छन् । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ महिनाभित्र केन्द्रीय अधिवेशन गर्न अध्यक्ष शेर्पालाई समय दिइएको छ । 

निर्वाचन आयोगले मंसिर २९ गते स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको थियो ।

राष्ट्रपतिलाई आयोगले अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको पनि २ महिनाभन्दा बढी भइसकेको छ । तर, हालसम्म नेविसंघले पूर्णता पाउन सकेको छैन ।

यस्तो छ स्ववियु चुनावको कार्यतालिका

त्रिविले स्ववियु निर्वाचनको समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता फागुन २७ गतेलाई तोकेको छ । यस्तै कार्यतालिकाअनुसार मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । 

कार्यतालिकाअनुसार फागुन १९ गते विद्यार्थी संघ/संगठन दर्ता, फागुन २१ गते मतदाता नामावली प्रकाशन, फागुन २५ गते मतदाता नामावलीमा दाबी–विरोधको मिति तोकिएको छ । 

यस्तै, फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ ।

यस्तै, कार्यतालिकाअनुसार फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ । 

स्ववियु निर्वाचनको प्रचारप्रसारका लागि फागुन २९ गतेदेखि चैत २ गते राति १२ बजेसम्मको समय तोकिएको छ । त्रिविले २८ बर्से उमेर हद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्न लागेको हो । 

332730342_942142543818787_6005212905950135933_n1677147897.jpg

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्