माओवादी पदाधिकारी बैठक सुरु

सोमबार, फागुन ८, २०७९

काठमाडौँ –नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

जारी बैठकमा राष्ट्रपति निर्वाचन, पार्टीको सांगठनिक गतिविधि र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । माओवादी केन्द्र आफूले राष्ट्रपतिमा उम्मेदवारी नदिने भए पनि राष्ट्रिय सहमति खोज्ने प्रयास गर्दै आएको छ ।

बैठक सुरु हुनुअघि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका महासचिव देव गुरुङले संविधानमा दलको व्यक्तिलाई राष्ट्रपति बनाउने कल्पना नै नगरिएको बताएका छन् । 

उनले भने, ‘दल विशेषलाई राष्ट्रपति बनाउन सकिँदैन । राष्ट्रपति राष्ट्रिय एकताको प्रतीक हो । दलहरूको सिफारिस हुन्छ तर, साझा सहमति बन्न सक्ने व्यक्ति हुनुपर्छ । सबैले समर्थन गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ ।’
 

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १७:३१
प्रतिक्रिया दिनुहोस्