सरकार र यातायात मजदुरबीच सिंहदरबारमा वार्ता सुरु

मंगलबार, फागुन २, २०७९

काठमाडौँ– सरकार र यातायात मजदुरबीच सिंहदरबारमा वार्ता सुरु भएको छ । 

ट्राफिक जरिमाना बढाएकामा असन्तुष्टि व्यक्त गर्दै आन्दोलनरत मजदुरसँग सरकारले केहीबेरअघि वार्ता सुरु गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ता सुरु भएको बताइएको छ । यातायात व्यवसायीले नयाँ बसपार्कभित्र आफ्ना कम्पनीको सवारीसाधन ‘पार्किङ’ गर्न लोत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरे पनि मजदुरले भने त्यसको विरोध गरेका छन् ।  

२०५६ मा काठमाडौँ महानगरपालिकाले ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत लोत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरेर काठमाडौँ महानगरपालिका–२६ गोँगबुस्थित विष्णुमती किनारामा राष्ट्रिय बसपार्कका रूपमा सञ्चालनमा ल्याएको थियो ।

उक्त बसपार्कबाट सार्वजनिक सवारीसाधन सञ्चालन गर्नेबारे यातायात व्यवसायीहरूको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग सम्झौता गरेर बसहरू देशका विभिन्न भागमा ओहोर–दोहोर गर्दै आएका छन् ।

सार्वजनिक ठुला बस नयाँ बसपार्कबाट सञ्चालनमा आए पनि माइक्रो बस र केही बस भने अहिले नयाँ बसपार्क र गोँगबुचोकको बीचको सडकबाट सञ्चालन हुँदै आएका छन् ।

पछिल्लो समय नयाँ बसपार्क र गोँगबु चोकको बीचको सडक विस्तार हुने क्रममा रहेपछि त्यहाँबाट सञ्चालन हुँदै आएका बस र माइक्रो बस नयाँ बसपार्कबाट सञ्चालन गर्नेबारे व्यवसायीसँग छलफल भइरहेको बेलामा केही व्यवसायी तथा मजदुर सडकबाट बस सञ्चालन गर्न पाउनुपर्ने अडान राखेर आन्दोलनमा उत्रिएका जनाइएको छ । 

जरिमाना बढाएको विरोधमा यातायात मजदुरहरूले आज सार्वजनिक यातायात ठप्प बनाएका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  ०९:३५
प्रतिक्रिया दिनुहोस्