‘जनयुद्ध दिवस’को निर्णयप्रति समाजकाे विभाजित मत

बेपत्ता, घाइते र मृतकका परिवारले न्याय नपाएको गुनासो
सोमबार, फागुन १, २०७९

काठमाडौँ– सरकारले ‘जनयुद्ध दिवस’को मनाउने निर्णय गरेर सोमबार सार्वजनिक बिदा दियो । सरकारको निर्णयबारे सामाजिक सञ्जालमा समर्थन र विरोधका स्वरहरू सुनिएका छन् । 

नेकपा माओवादीले २०५२ साल फागुन १ गतेदेखि ‘जनयुद्ध’ सुरु गरेको थियो । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोही दिनको स्मरणमा जनयुद्ध दिवस मनाउने भन्दै सोमबार देशभर सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद्बाट गराएका हुन् । 

१० वर्ष चलेको सशस्त्र युद्धको नेतृत्व माओवादीका तर्फबाट प्रचण्डले नै गरेका थिए । २०६५ र २०७३ मा प्रधानमन्त्री हुँदा प्रचण्डले यस्तो निर्णय गराउन सकेका थिएनन् । 

यसपटक भने फागुन १ लाई जनयुद्ध दिवसको मान्यता दिएर मन्त्रिपरिषद्बाट निर्णय गराए । 

सरकारको निर्णयका बारेमा माओवादी केन्द्रसँग आबद्ध नेता तथा कार्यकर्ताले स्वागत गरेका छन् भने अन्य राजनीतिक दलले औपचारिक रूपमा समर्थन गरेका छैनन् । 

२०६२ मंसिर ७ मा तत्कालीन विद्रोही माओवादी र ७ राजनीतिक दलहरूबीचमा भएको १२ बुँदे सहमतिको जगमा २०६२/६३ को १९ दिने जनआन्दोलन भएको थियो । 

त्यसैको बलमा पुनर्स्थापित प्रतिनिधिसभाले २०६३ जेठ ४ मा विशेष घोषणा गरेर तत्कालीन राजाका अधिकार कटौती गरेको थियो भने संविधानसभाको पहिलो निर्वाचनपछिको संसद्ले २०६५ जेठ १५ मा नेपाललाई गणतन्त्रात्मक राज्य घोषणा गरेको थियो । 

केही दिनअघि मात्रै प्रधानमन्त्री प्रचण्डले बिदा धेरै भएकाले पुनरावलोकन गर्नुपर्ने बताएका थिए । 

तर, केही दिनपछि नै फागुन १ मा बिदा दिने निर्णय गरेर आफ्नै वक्तव्यविपरीतको निर्णय गरेको भन्दै कतिपयले प्रधानमन्त्रीको विरोध गरेका छन् । 

सरकारको समर्थन र विरोधमा समाज विभाजित भएको तथ्य सामाजिक सञ्जालमा पोस्ट भएका विचारले स्पष्ट पार्छ । 

यसरी सामाजिक सञ्जालमार्फत विभाजित भएको समाजलाई सरकारले एकीकृत गर्नुपर्ने विचार नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले व्यक्त गरेका छन् ।

‘सरकारको काम समाजलाई विभाजित गर्ने होइन, जोड्ने हो । माओवादीको न संसद्मा बहुमत छ न सरकारमा । उसलाई ‘जनयुद्ध’ जति प्रिय छ, अरूलाई त्यति नै अप्रिय छ । त्यसैले ११ प्रतिशतले ८९ प्रतिशतमाथि आफ्नो निर्णय लाद्नु कदापि बुद्धिमानी होइन । अरूलाई अक्करमा पारेर माथि हात पारेको ठान्नु आत्मरति मात्र हुन्छ,’ रिजालले ट्विटरमा लेखेका छन् । 

रिजालले व्यक्त गरेको विचारमा धेरैले प्रतिपश्न गरेका छन् । माओवादी केन्द्रको रुचिमा भएको निर्णयमा विरोध गरेको, तर राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ मा बिदा गराउन दबाब दिँदा एमाले कता थियो ? भनेर प्रश्न गरेका छन् । 

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनयुद्धले गर्दा देशमा गणतन्त्र स्थापना भएको स्मरण गरेका छन् । 

‘जनयुद्ध दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना तथा महान् सहिद, बेपत्ताजन, घाइते योद्धाहरूमा हार्दिक सम्मान ! जनयुद्ध र त्यसकै पूरकका रूपमा भएका जनआन्दोलन, मधेस विद्रोह, थरुहट विद्रोह, जनजाति आन्दोलनलगायत ऐतिहासिक संघर्षकै बलमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको स्मरण गरौँ,’ ट्विटरमा डा. भट्टराईले लेखेका छन् ।

भट्टराईको ट्विटमा पनि फरक–फरक प्रतिक्रियाहरू आएका छन् । इन्दिरा सिलवाल नामक प्रयोगकर्ताले ‘जनयुद्ध’को बेला राजाविरुद्ध बोलेर गल्ती भएको प्रतिक्रिया दिएकी छिन् । जनयुद्धले फाइदाभन्दा बेफाइदा बढी गरेको उनको तर्क छ । 

‘गाउँ खाली, उत्पादन नास्ति, परनिर्भरता बढ्यो, ६/७ कक्षा पढ्ने बच्चाको योजना १२ कक्षापछि विदेश जाने, रेमिट्यान्समा देश चलेको छ । ब्रेन ड्रेन भयावह छ... यी केका नतिजा हुन् ? बोल्न पाउनुभएको चाहिँ नभन्नु सर–मिसहरू, हिजो राजाविरुद्ध बोलिएको हो, तर गल्ती गरिएछ,’ उनले लेखेकी छिन् । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं योजना आयोजका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलले जनयुद्ध दिवस मनाउने निर्णयको कांग्रेसले विरोध गर्न नसकेको भन्दै व्यक्तिगत रूपमा माफी मागेका छन् । 

‘माओवादी हिंसामा ज्यान गुमाएका दाजुभाइ दिदीबहिनीहरू र राजनीतिक प्रतिशोधमा मारिएका नेपाली कांग्रेसका सहिदहरू मलाई माफ गरिदिनुहोला । राष्ट्रपति र सरकारका २ थान मन्त्रीको लोभमा म केन्द्रीय सदस्य भएको पार्टीको नेतृत्व हँसिया हथौडामा मत हलाएपछि फेरि दर्शनबाट विचलित भयो ‘जनयुद्ध दिवस’ मनाएर !’, पोखरेलले ट्विटरमा लेखेका छन् । 

कतिपयले जनयुद्ध दिवसको दिन दिएको बिदा ‘जाँड’ खानका लागि भन्ने तर्क गरेका छन् । मूर्ख नामक ट्विटर प्रयोगकर्ताले बेपत्ता पारिएका र मारिएका १७ हजारका बाबुआमाले अहिले पनि परिवारका सदस्य फर्किने अपेक्षा गरेको भन्दै छानबिन नगरी बिदा दिनु गलत भएको बताएका छन् । 

उनले भनेका छन्, ‘१७ हजार जनताको घरमा आज पनि छोराछोरी आउने आसले कति बाबुआमा बसेका छन् । हिम्मत छ १७ हजारको परिवारलाई भेट्ने ? जाँड खानलाई सार्वजनिक बिदा ।’

जगदीश्वर थापा नामक ट्विटर प्रयोगकर्ताले आफूले राज गर्नका लागि जनतालाई उचालेको षड्यन्त्रपूर्ण दिनका रूपमा फागुन १ लाई चित्रित गरेका छन् । 

आचार्य छब्बु नामका प्रयोगकर्ता शरीरमा गोली बोकेर हिँडेका युवाहरूलाई सम्झना गर्दै जनयुद्धको उपलब्धि खै ? भनेर प्रश्न गर्छन् । 

‘हजाराँै सहिद परिवार पीरमा छन, घाइतेहरू शरीरमा गोली बोकेर हिँड्न बाध्य छ्न, कैयाैँ बेसहाराहरूको बिजोग छ, कोही मरे कोही बहुलाए, उपलब्धि एउटा बिदा ? खोई ती जनतासामु बाँडेका सपनाहरू ?’, उनले लेखेका छन् । 
 

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १६:३२
प्रतिक्रिया दिनुहोस्