लगानीकर्ताको गुनासो– मौद्रिक नीतिको अपेक्षित समीक्षा भएन

सोमबार, फागुन १, २०७९

काठमाडौँ– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा पुँजी बजार लगानीकर्ताको अपेक्षाअनुसार माग सम्बोधन हुन नसकेको लगानीकर्ताहरूले बताएका छन् ।

शुक्रबार राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षामा पुँजी बजारमा देखिएको नीतिगत समस्या सुधार हुने अपेक्षा लगानीकर्ताको रहे पनि अपेक्षाअनुसार नभएको भन्दै उनीहरूले गुनासो गरेका हुन् ।

गत आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर मार्जिन धितो कर्जामा लागू भएको ४/१२ करोडको सीमा खारेज हुनुपर्ने माग लगानीकर्ताको थियो ।

तर, चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ४ करोडको सीमा खारेज भए पनि १२ करोडको सीमा कायम रहेकाले त्यो पनि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा हट्ने अपेक्षा भए पनि राष्ट्र बैंकले सम्बोधन नगरेर सेयर लगानीकर्तालाई राष्ट्र बैंकले उपेक्षा गरको आरोप लगाए । 

नेपाल इन्भेस्टर फोरमका पूर्वअध्यक्ष तथा सेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले सेयर लगानीकर्ताको माग मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा पनि राष्ट्र बैंकले सम्बोधन नगरेर उपेक्षा गरेको बताए ।

उनले अर्थतन्त्रमा असहज हुँदा ल्याइएका नीतिहरू अर्थतन्त्रमा केही सहज हुँदा पुनारावलोकन हुन्छ भन्ने आमलगानीकर्ताको अपेक्षा र चासो भए पनि अपेक्षाअनुसार नआएको गुनासो गरे । 

उनले नेपालका पुँजी बजारका संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्नका लागि राष्ट्र बंैकले कार्यविधि बनाउँदा सेयर लगानीकर्ताको मागलाई सम्बोधन गर्नेमा विश्वास गरेको उल्लेख गरे ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पौडेलले नेपालको सेयर बजारमा संस्थागत लगानीकर्ताको उपस्थिति न्यून रहेको भन्दै व्यक्तिगत लगानीकर्ताको तुलनामा ६ देखि ७ प्रतिशत पनि नरहेकाले सरकारले प्रोत्साहन गर्न आवश्यक रहेको बताए ।

उनले ४/१२ करोडको नीतिले व्यक्तिगत लगानीकर्तालाई त्यस्तो असर नगरेको बताए । अहिले पुँजी बजार न्यून बिन्दुबाट माथिल्लो बिन्दुमा प्रवेश गरिरहेको अवस्थामा र बहुसंख्यक व्यक्तिगत लगानीकर्ता रहेका कारण सेयर बजारमा प्रभाव नपर्ने उनको भनाइ छ । 

उनले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पुँजी बजारमा संस्थागत लगानीकर्तालाई केही प्रोत्साहन गरे मात्रै पुँजी बजारको दिगो विकास हुन सक्ने बताए ।

त्यस्तै, नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले सेयर लगानीकर्तालाई उपेक्षा गरेको बताइन् । 

सेयर लगानीकर्ताले ४ वटा माग राख्दा समेत राष्ट्र बैंकले सम्बोधन नगर्नु सेयर बजारप्रति उपेक्षा भएको उनको आरोप छ । 

आफूहरूले राखेको ४/१२ को नीतिमध्ये ४ हटिसकेको अवस्थामा १२ को क्याप पनि हटाउन माग गर्दै अर्थमन्त्री र गभर्नरलाई भेटेर विशेष आग्रह गर्दा पनि सुनुवाइ नभएको गुनासो गरिन् ।

उनले सेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिनुपर्ने भन्दै राष्ट्र बैंक निर्देशिकामा सम्बोधन गर्ने आशा रहेको पनि बताइन् ।

उनले लगानीकर्ता संघहरूले १२ करोड (१२ करोड) सम्मको सेयर कर्जाको सीमाले सेयर बजारलाई निरुत्साहित गरेकाले सो व्यवस्थालाई फिर्ता गरिनुपर्ने माग कायम रहेको बताइन् । 

अध्यक्ष पोखरेलले विद्यमान ब्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकाले उक्त ब्याजदरमा पुनरावलोकन गरी एकल अंकमा ल्याउनुपर्ने बताइन् । वर्तमान सरकारमा अर्थमन्त्री विष्णु पौडेल आएपपछि पुँजी बजारमा नीतिगत सुधार हुन्छ भन्ने अपेक्षा रहेको उनले बताइन् । 

सेयर लगानीकर्ता अहिले निराश हुनुपर्ने अवस्था भने नरहेको बताउँदै उनले सेयर लगानीकर्ताले चाहेको र बजार बुझेको अर्थमन्त्री भएकाले अर्थमन्त्रीले पुँजी बजारमा रहेका नीतिगत समस्यालाई समाधान गर्नेमा आशा रहेको उल्लेख गरिन् । 

उनले मौद्रिक नीतिको समीक्षामा लगानीकर्तालाई सम्बोधन नगर्दैमा लगानीकर्ता निराश भएर बजारबाट भाग्न नहुने बताउँदै पुँजी बजार लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको जनाइन् । 

उनले अर्थमन्त्रीले पुँजी बजारलाई दीर्घकालीन रूपमा व्यवस्थित बनाउँदै बजारका नीतिगत समस्यालाई सुधार गरे मात्रै पुँजी बजारको दीर्घकालीन विकास हुने पनि बताइन् । 

अध्यक्ष पोखरेलले नेपालको पुँजी बजार राजनीतिक इगोका कारण पनि धरासायी बनाउने काम भइरहेको बताइन् ।

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १०:५२
प्रतिक्रिया दिनुहोस्