‘स्वरोजगार तालिम परिणाममुखी र व्यावहारिक हुनुपर्छ’

बुधबार, माघ २५, २०७९

काठमाडौँ–नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले दिने स्वरोजगार तालिम परिणाममुखी र व्यावहारिक बनाउन आवश्यक रहेको बताएका छन् । 

मंगलबार महासंघले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले युवालाई स्वरोजगार बनाउन दिने तालिम परिणाममुखी र उद्यमशील बन्ने गरी दिन आवश्यक रहेको बताए । 

सरकारले वार्षिक रूपमा खर्च गर्ने ४ अर्बको तालिम तालिममा मात्रै सीमित भएको गुनासो गर्दै उनले सरकारले दिने स्वरोजगार तालिमका लागि तालिम मात्रै नभएर परिणाम दिन सक्ने शिक्षा दिने गरी परिमार्जन गर्न आवश्यक रहेको बताए । 

उनले सरकारले आफूलाई चाहिएको जनशक्तिको पहिचान गरी तालिम दिनुपर्ने धारणा राखे । 

निजी क्षेत्रले दिने तालिम परिणाम र उद्यमशील बन्ने किसिमको हुने भन्दै उनले सरकारले पनि त्यही अनुसार तालिम दिनुपर्ने सुझाए । 

उनले उद्यमशील विकासका लागि काम गर्ने संस्थाहरूबीच समन्वय आवश्यक रहेको बताउँदै उद्यमशीलता विकास र स्वरोजगारको क्षेत्रमा काम गर्ने धेरै संस्था भए पनि सम्बन्धित सरोकारवाला निकायहरूबीच समन्वय गरी तालिम लिएर उद्यम खोल्न सक्ने बनाउन आवश्यक रहेको बताए ।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १३:२२
प्रतिक्रिया दिनुहोस्