तनहुँमा चालु आर्थिक वर्षकाे ६ महिनामै ४३५ उद्योग दर्ता

बुधबार, माघ २५, २०७९

दमौली - चालु आर्थिक वर्षको ६ महिनामा तनहुँमा ४३५ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा आव ०७९/८० को ६ महिनाको अवधिमा ४३५ उद्योग दर्ता भएका हुन् । 

जसमा सेवामूलक, उत्पादनमूलक, कृषि तथा वन वातावरण, पर्यटन उद्योग दर्ता भएको कार्यालय प्रमुख अविनाश कुँवरले जानकारी दिए। तीमध्ये ३४ उत्पादनमूलक, २६७ कृषि तथा वन पैदावर, १ पूर्वाधार, ७० पर्यटन, १ सूचना प्रविधि र ६२ सेवामूलक उद्योग दर्ता भएका हुन् । 

जिल्लामा कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता बढेको उनको भनाइ थियो । 

'वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु पशुपालनतर्फ आकर्षित भएका छन्, यसले गर्दा कृषि तथा वन पैदावरमा आधारित उद्योगको दर्ता बढाएको छ,' प्रमुख कुँवरले भने । 

कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन र तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ । वाणिज्यतर्फ सोही अवधिमा २९२ नयाँ व्यवसाय दर्ता भएका छन्। 

आर्थिक वर्ष ०७८/७९ मा जिल्लामा ५७९ उद्योग दर्ता भएका थिए । यसैगरी आव ०७७/७८ मा २ हजार १ र ०७६/७७ मा ३ हजार ५१५ उद्योग थपिएका थिए । उक्त कार्यालयले गत आर्थिक वर्षमा जिल्लाका १६२ फार्म खारेज गरेको थियो । सञ्चालनमा नरहेका र खारेजका लागि  निवेदन परेपछि ती फार्म खारेज गरेको कार्यालयले जनाएको छ । 

१ लाखसम्म पुँजी भएको उद्योगले १ हजार १ सय, ३ लाखसम्म पुँजी भएको उद्योगले ३ हजार १ सय, ५ लाखसम्म पुँजी भएको उद्योगले ६ हजार १ सय, ५० लाखसम्म पुँजी भएको उद्योगले १२ हजार १००, १ करोडसम्म पुँजी भएको उद्योगले २० हजार १००, ५ करोडसम्म पुँजी भएको उद्योगले ३० हजार १०० र ५ करोडभन्दा माथि पुँजी भएको उद्योगले ५० हजार ११० दर्ताबापत शुल्क बुझाउनुपर्छ ।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १२:२५
प्रतिक्रिया दिनुहोस्