युएईमा विदेशी कामदारको पनि बेरोजगार बिमा अनिवार्य

मंगलबार, माघ २४, २०७९

काठमाडौँ– युएईमा रोजगारी गुमेका अथवा काम नपाएका कामदारले बेरोजगार बिमा पाउने भएका छन् ।

बेरोजगार बिमाको सुविधा स्वदेशी तथा विदेशी कामदारले पाउने युएईको मानव संशाधान मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय पत्रिका द नेसनल न्युजले उल्लेख गरेको छ । 

अघिल्लो वर्षको मार्चमा नै विभिन्न ९ वटा स्थानीय बिमा कम्पनीसँग सम्झौता गरी बेरोजगार बिमा स्कम सुरु गरिएको न्युजमा भनिएको छ । समाचारमा जनाइएअनुसार सरकारी तथा निजी क्षेत्रमा कार्यरत स्वदेशी तथा विदेशी कामदारले बेरोजगार बिमा अगाडि नै गर्नुपर्ने हुन्छ । 

युएई सरकारले आउँदो जुन ३० भित्र सबै श्रमिकले बिमा गर्नुपर्ने अनिवार्य गरेको छ । बिमा नगरेको पाइएमा ४०० दिराम जरिमाना गरिने मन्त्रालयलाई उद्धृत गर्दै पत्रिकाले जनाएको छ । 

बिमाको सुविधा 

बेरोजगार बिमालाई २ प्रकारमा वर्गीकरण गरिएको छ । १ महिनाको तलब १६ हजार दिराम वा त्यो भन्दा कम पाउने श्रमिकले महिनाको ५ दिराम र वार्षिक ६० दिराम जम्मा गर्नुपर्ने हुन्छ । यस्तै महिनाको तलब १६ हजार दिरामभन्दा बढी कमाइ गर्नेका हकमा महिनाको १० दिराम र वार्षिक १२० दिराम जम्मा गर्नुपर्ने व्यवस्था छ । 

श्रमिकले नयाँ जागिर पाएको आवेदन दिएको ३ महिनापछि बेरोजगार तलब बन्द हुन्छ । श्रमिकले स्वेच्छाले बिमा स्किमलाई अगाडि बढाउन वा बन्द गर्न सक्छन् । 

बेरोजगारी बिमा भरेका कामदारले आफ्नो डिटेल भरेर आवेदन पेस गर्नुपर्ने हुन्छ । सबै प्रक्रिया अनलाइनबाटै निःशुल्क गर्न सकिन्छ ।

विभिन्न कारणले जागिर गुमेमा ३ महिनासम्म श्रमिकले आफ्नो न्यूनतम तलबको ६० प्रतिशत बराबर रकम ९बेरोजगार तलब० पाउँछन् । यसका लागि श्रमिकले बिमा कार्यक्रममा रकम जम्मा गरेको कम्तीमा १२ महिना भएको हुनुपर्ने प्रावधान छ ।

श्रमिकले युएई नै छाडेर गएमा र अर्को नयाँ जागिर खोजेपछि यो स्किम लागू हुँदैन । यस्तै, कामदारले आफ्नो स्वेच्छाले राजीनामा दिएको, कम्पनीको नियमविपरीत काम गरेको वा जागिरबाट निकालिएको अवस्थामा बेरोजगार तलबको स्किम नपाउने भनिएको छ । 

युएई सरकारले सन् २०२३ को वार्षिक कार्यक्रममा अनिवार्य बेरोजगार बिमा स्किम प्रभावकारी बनाउँदै लैजाने घोषणा गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १६:२८
प्रतिक्रिया दिनुहोस्