५ वर्षमा ७ करोड ५० लाख डलरको पस्मिना निर्यात गर्ने लक्ष्य

मंगलबार, माघ २४, २०७९

काठमाडौँ– सरकारले सन् २०२६ सम्म पस्मिनाको निर्यात ७ करोड ५० लाख अमेरिकी डलर पुर्‍याउने लक्ष्यसहित ‘ सार्वजनिक गरेको छ ।

मंगलबार ललितपुरमा भएको कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पस्मिना निर्यात रणनीति सार्वजनिक गरेका हुन् ।   

निजी क्षेत्रको आपूर्ति क्षमता अभिवृद्धि गर्ने, हिमाली च्याङ्ग्रा पस्मिनाको निर्यात बढाउने र पस्मिनाको उत्पादनलाई विश्व बजारमा पुर्‍याउने उद्देश्यसहितको रणनीति सरकारले बनाएको छ । 

कार्यक्रममा बोल्दै उद्योगमन्त्री भण्डारीले पस्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति योजनाले पस्मिना उद्योगको विकास र विस्तारमा ठुलो टेवा पुग्ने बताए । 

नेपालमा पहिलो पटक नेपाली च्याङ्ग्राको ऊनलाई प्रशोधन गरी पस्मिनाको धागो उत्पादन गर्ने कारखाना बन्न लागेको भन्दै मन्त्री भण्डारीले नेपाली च्याङ्ग्राले उचित मूल्य पाउने विश्वास व्यक्त गरेका छन् ।

मन्त्री भण्डारीले नेपालमा नै च्याङ्ग्राको ऊन प्रशोधन गर्न सकिने भएकाले स्वदेशमा उचित मूल्य, बजार सुनिश्चितता हुने र उत्पादन बढ्ने दाबी गरे । 

नेपालभित्र पस्मिनाको धागो उत्पादन गरी पस्मिनाजन्य वस्तुको उत्पादन र गुुणस्तर बढ्ने भण्डारीले बताए । 

उनले रणनीतिक योजनाले पस्मिना क्षेत्रले भोगिरहेको समस्या र चुनौतीको समाधान गरी ५ वर्षभित्र लक्ष्यअनुसार निर्यात गर्ने प्रतिबद्धता जनाए ।

उद्योग सचिव मधुकुमार मरासिनीले च्याङ्ग्राको ऊन उत्पादन बढाउन हिमाली जिल्लाहरूमा च्याङ्ग्रा पालनमा किसानलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताए । 

नेपाल पस्मिना उद्योग संघका अध्यक्ष विजय दुगडले पस्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति योजनाले निजी क्षेत्रका लागि प्रभावकारी हुने बताए । 

नेपालमा पछिल्लो समय पस्मिनाका उत्पादनको माग सय टनभन्दा बढी रहेको बताए । नेपालले अन्तर्राष्ट्रिय बजारको १।५ प्रतिशत र नेपाली बजारको मात्रै २।७ प्रतिशत पस्मिनाको निर्यात गरिरहेको दुगडले बताए । 

नेपालमा ५० लाख पिस पस्मिना उत्पादन क्षमता भए पनि अहिले २० देखि २५ लाख पिस मात्रै उत्पादन भइरहेको दुगडले बताए ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १६:२५
प्रतिक्रिया दिनुहोस्