चिया निर्यात गरेर बर्सेनि ३ करोड विदेशी मुद्रा आम्दानी

मंगलबार, माघ २४, २०७९

झापा –चिया निर्यातबाट बर्सेनि ३ करोड ८० लाख विदेशी मुद्रा आर्जन भइरहेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार देशमा वार्षिक २ करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदै आएको छ । त्यसमध्ये शून्य दशमलव ५० प्रतिशत चिया आन्तरिक बजारमा खपत हुनेगरेको बोर्डका प्रमुख इन्द्रप्रसाद अधिकारीले बताए ।

उनले नेपालमा २७ हजार ५०० हेक्टर क्षेत्रफलमा चियाको खेती हुँदैआएको बताए । त्यसमध्ये झापामा मात्र १० हजार ५०० हेक्टर जमिनमा चियाखेती हुँदैआएको छ । ‘देशमा  उत्पादित चियामध्ये ९९ प्रतिशत प्रदेश १ मा हुन्छ’, उनले भने ।

प्रमुख अधिकारीले प्रदेश १ मध्ये झापामा सबैभन्दा बढी वार्षिक १ करोड ८० लाख केजी चिया उत्पादन हुने गरेको बताए ।

नेपालमा चिया उत्पादन गर्ने ३० अर्थोडक्स र ३८ सिटीसी गरी ६८ वटा ठूला चिया उद्योग रहेको छ । यस्तै १५० भन्दा बढी साना अर्थोडक्स प्रशोधन उद्योग सञ्चालनमा छन् ।

बोर्डको तथ्याङ्कमा देशैभर १६० भन्दा बढी चिया बगान छन् । १५ हजारभन्दा बढी साना किसानले चियाखेती गर्दैआएका छन् । ७० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको बोर्डको भनाइ छ छ ।

प्रमुख अधिकारीले देशभरमा १७ हजार बढी चिया कृषक चियाखेतीमा आबद्ध रहेको जानकारी दिए । उनले पहाडी भू–भागमा उत्पादित अर्थोडक्स चियाका लागि सरकारले ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालय’ नाम ट्रेडमार्क जारी गरेको बताए ।

उनले झापामा उत्पादित सिटीसी चियाका लागि समेत ‘ट्रेडमार्क’ जारी गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । चिया क्षेत्रमा वर्षौँदेखि पहल गरे पनि ‘अक्सन सेन्टर’ सञ्चालनमा आउन नसक्दा चिया सरोकारवाला चिन्तित छन् । प्रभावकारी गुणस्तरीय ट्रेडमार्क प्रमाणीकरण, चियाको गुणस्तरमा एकरुपता र गुणस्तरीय हरियो चियापत्ती टिपाइमा प्रोत्साहन कार्यक्रम लागू गर्न सके चिया क्षेत्रलाई राहत हुने नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष सुरेश मित्तलले बताए ।
 

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १३:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार