इयूको टोलीद्वारा चिलिमे–त्रिशूली आयोजना निरीक्षण

मंगलबार, माघ २४, २०७९

काठमाडौँ– युरोपियन युनियनको उच्चस्तरीय टोलीले निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको स्थलगत निरीक्षण गरेको छ । 

युरोपेली युनियनको एसिया निर्देशक पिटरिस अस्टस नेतृत्वको उच्चस्तरीय टोलीले सोमबार नुवाकोट र रसुवामा निर्माणाधीन आयोजनाको स्थलगत निरीक्षण गरेको हो ।

आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेँसीमा २२०/१३२/३३ केभीका क्रमशः चिलिमे हब र त्रिशूली–३बी हब सबस्टेसन निर्माणाधीन छन् ।

चिलिमे हबदेखि त्रिशूली–३बी हब सबस्टेसनसम्म २८ किलोमिटर २२० केभी प्रसारण लाइन निर्माण भइरहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । 

अनुमानित लागत ३ करोड ९० लाख अमेरिकी डलर रहेको आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र जर्मन विकास बैंक (केएफडब्लू) को अनुदान छ ।

आयोजनामा युरोपियन युनियनले स्थापना गरेको युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋण छ । 

युनियनको उच्चस्तरीय टोलीले त्रिशूली–३बी हब सबस्टेसन र रसुवाको उत्तरगया गाउँपालिका–२ स्थित डाँडागाउँमा निर्माणाधीन प्रसारण लाइनको निरीक्षण गरेको थियो ।

टोलीले नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन, निर्माणमा संलग्न परामर्शदाता र ठेकेदारका प्रतिनिधिहरूसँग आयोजनाको प्रगति, समस्या, निर्माण सम्पन्न हुने मितिलगायत विषयमा छलफल गरेको थियो । 

टोली प्रमुख पिटरिस अस्टसले आयोजना निर्माणले पछिल्लो समय गति लिएको र अहिलेसम्मको प्रगति सन्तोषकजनक देखिएको उल्लेख गरेको टोलीसँगै स्थलगत निरीक्षणमा गएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

trishuli chilime (1)1675751202.jpg

भौगोलिक रूपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनुपर्ने, भिरैभिर रहेको र सडक पनि नभएकाले ढुंगा गिट्टी, बालुवा, टावरका सामान, पानी मान्छे या खच्चडबाट बोकाएर लैजानुपर्ने, बाढीपहिरो, ठेकेदार तथा परामर्शदाताको कमजोर कार्य सम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोभिड–१९ लगायत कारणले आयोजनाको निर्माण प्रभावित हुँदै आएको प्राधिकरणको भनाइ थियो । अहिले निर्माणले गति लिएको छ । 

‘निर्माणमा केही ढिलाइ भएकामा उहाँहरूले विगतमा चासो र चिन्ता व्यक्त गर्दै आउनुभएको थियो । तर निरीक्षण भ्रमणका क्रममा कामले गति लिई उल्लेख्य प्रगति हासिल गरेको र भौगोलिक रूपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा आयोजनाको काम भइरहेको देखेर टोलीले खुसी व्यक्त गर्दै यसको प्रशंसा गरेको छ’, कार्यकारी निर्देशक घिसिङले भने ।

युरोपियन युनियनले इआइबीमार्फत नेपालको जलविद्युत्को उत्पादन, प्रसारण र वितरणमा ठुलो लगानी गर्न खोजेको तथा ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त आयोजनाको अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको सहवित्तीयकरणमार्फत लगानी गर्न इच्छा व्यक्त गरेको पनि घिसिङले जानकारी दिए ।

युनियनका अधिकारीहरू चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माणमा प्रगति देखिएपछि अन्य थप आयोजनामा लगानीका लागि सकारात्मक देखिएको प्राधिकरणले जनाएको छ । 

इआइबीले चिलिमे–त्रिशूली प्रसारण लाइनका अतिरिक्त १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना, मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन र सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका जिल्लाहरूमा विद्युतीकरणका लागि सहुलियतपूर्ण ऋण प्रवाह गरेको छ ।

केएफडब्लूले नुवाकोट र रसुवामा विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण र सौर्य ऊर्जाका लागि अनुदान उपलब्ध गराएको छ । 

त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा प्रवाहका लागि चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो ।

आयोजनाको समग्र भौतिक प्रगति ८१ प्रतिशत छ । त्यसमध्ये प्रसारण लाइन र सबस्टेसनको निर्माण प्रगति क्रमशः ७१ र ७० प्रतिशत छ । प्रसारण लाइन र सबस्टेसनहरूको निर्माण आगामी चैतभित्र सक्ने लक्ष्य राखी धमाधम काम भइरहेको छ । 

प्रसारण लाइन निर्माणमा करिब ३०० जना, चिलिमे हब सबस्टेसनमा ९० जना र त्रिशूली–३बी हबमा १६० जना श्रमिक परिचालित छन् ।

कार्यकारी निर्देशक घिसिङले श्रमिकको संख्या थप गरी टावरको जग हाल्ने, खडा गर्ने, तार तान्ने, सबस्टेसनका उपकरणहरू जडान गर्नेलगायत सबै काम समानान्तर रूपमा अगाडि बढाउन निर्देशन दिए ।

दुवै सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर, जिआइएसलगायत महत्वपूर्ण उपकरण आयोजना स्थलमा ल्याइसकिएको छ ।

यता, प्रसारण लाइनका टावर, कन्डक्टरलगायत सम्पूर्ण उपकरणहरू निर्माण स्थलमा आपूर्ति भइसकेको छ । अहिले सबस्टेसनहरूमा उपकरण जडान र बाँकी रहेका सिभिल संरचना निर्माण भइरहेको छ । 

कुल २८ किलोमिटर प्रसारण लाइनमा पर्ने ७९ टावरमध्ये ४४ वटाको जग हालिएको छ । १३ वटा टावरको आंशिक जग हालिएको छ । १५ वटा टावरको जग हाल्न खन्ने तथा ढलाइनको काम भइरहेको छ । २९ वटा टावर खडा गरिएको छ ।

खडा गरिएका टावरमा तार तान्न मुख्य ठेकेदारले सहायक ठेकेदारसँग सम्झौता गरिसकेको छ । तार तान्न छिट्टै सुरु हुने बताइएको छ । तत्काल १० किलोमिटर तार तान्न सकिन्छ । 

आयोजनाको ठेकेदार चिनियाँ कम्पनी पिंगाओ ग्रुप अफ कम्पनिजले अहिले निर्माणमा तीव्रता दिइएको उल्लेख गर्दै चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखी काम भइरहेको जनाएको प्राधिकरणको भनाइ छ ।

प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि पिंगाओसँग २०७४ सालको कात्तिकमा ठेक्का सम्झौता भई पुसबाट कार्यान्वयनमा आएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १२:०८
प्रतिक्रिया दिनुहोस्