६ महिनामा वस्तु निर्यात ३२ प्रतिशतले घट्यो

सोमबार, माघ २३, २०७९

काठमाडौं– पछिल्लो आर्थिक वर्ष २०७९/८० को छ महिनामा वस्तु निर्यात ३२ प्रतिशतले घटेको छ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको ६ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थितिअनुसार, कुल निर्यातमा ३२ प्रतिशत कमी आई ८० अर्ब ८१ करोड बराबरको निर्यात भएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ९५.५ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४०.१ प्रतिशत र २५.२ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ३.६ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । 

वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलंैचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ । 

त्यस्तै, आर्थिक वर्ष २०७९/८० को छ महिनामा कुल वस्तु आयात २०.७ प्रतिशतले कमी आई ७९२ अर्ब ६७ करोड कायम भएको राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५१.१ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १९.४ प्रतिशत, २४.६ प्रतिशत र २१.४ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, रासायनिक मल, सुन, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एम.एस.विलेट, चाँदी, दूरसञ्चारका उपकरण तथा पार्ट्स लगायतका वस्तुको आयात घटेको छ ।

निर्यातततर्फ भैरहवा, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयातततर्फ सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १६:५८
प्रतिक्रिया दिनुहोस्