चालु आर्थिक वर्षको ६ महिना

७.२६ प्रतिशत पुग्यो उपभोक्ता मुद्रास्फीति

सोमबार, माघ २३, २०७९

काठमाडौँ– चालु आर्थिक वर्ष २०७९/८० को ६ महिनामा उपभोक्ता मुद्रास्फीति ७.२६ प्रतिशत पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ६ महिनामा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार पुस महिनासम्ममा उपभोक्ता मुद्रास्फीति ७.२६ छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.६५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५७ प्रतिशत छ । 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेस्टुरेन्ट तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १५.५६ प्रतिशत, सूर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, दुग्ध पदार्थ तथा अन्डाको ९.७० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.५६ प्रतिशत, र मदिराजन्य पेय पदार्थको ८.८४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा महिनामा काठमाडौँ उपत्यकामा ६.९३ प्रतिशत, तराईमा ७.४९ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ६.६९ प्रतिशत मुद्रास्फीति पाइएको छ । २०७८ पुस महिनामा यी क्षेत्रमा क्रमशः ५.२८ प्रतिशत, ६.१५ प्रतिशत, ५.३४ प्रतिशत र ५.२२ प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १६:४८
प्रतिक्रिया दिनुहोस्