अर्थशास्त्रीहरु भन्छन्– पुरक बजेट आवश्यक छ

सोमबार, माघ २३, २०७९

काठमाडौँ– अर्थविद्हरुले पूरक बजेट ल्याएर शिथिल अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने बताएका छन् । 

मुलुकको अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेको भन्दै अर्थविज्ञहरुले वर्तमान सरकारले चलायमान अर्थतन्त्र बनाउनको लागि औचित्य पुष्टि हुने गरी तत्काल पूरक बजेट ल्याउन आवश्यक रहेको सुझाव दिएका हुन् । 

पछिल्लो समय बैंकिङ प्रणालीमा तरलताको अभाव तथा ब्याजदर उच्च वृद्धि भएकाले बजारमा तरलता सहज बनाउनको लागि पूरक बजेट जरुरी रहेको भन्दै उनीहरुले सरकारले ल्याएका नीतिगत प्राथमिकता र साझा न्युनतम कार्यक्रम प्रभावकारी कार्यान्यनकोे लागि भएपनि पूरक बजेट आवश्यक रहेको बताए । 

अहिलेको बजेटमा सरकारका साझा न्युनतम कार्यक्रम समावेश नभएको भन्र्दै साझा कार्यक्रम कार्यान्वयन गर्नेगरी पूरक बजेट आवश्यक रहेको विज्ञको भनाई छ । उनीहरुले सरकारले बजारमा लगानीयोग्य रकम सहज बनाउन र अघिल्लो सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटलाई मध्यावधी समिक्षामार्फत आर्थिक वृद्धिदर,मूल्यवृद्धिको लक्ष्यमा परिमार्जन गर्नुपर्ने बताए । 

अर्थविद् डा.डिल्लीराज खनालले अहिलको बजेटमा राखिएको राजश्व संकलनको लक्ष्य भेटाउन मुस्किल रहेकाले सरकारले पूरक बजेट ल्याउन आवश्यक रहेको बताए । सरकारले पूरक बजेटको नाममा जथाभावी, मनपरी ढङ्गले अर्को बेथिति निम्त्याउने र वित्तीय अराजकता सिर्जना गरेर थप समस्या बढ्न नदिने गरी अहिलेकै बजेट भित्र पुनःसंरचना गरेर पूरक बजेट ल्याउन आवश्यक रहेको उनको भनाई छ ।

सरकारले ल्याएको नीतिगत प्राथमिकता र साझा कार्यक्रम कार्यान्वयन गर्नेगरी पूरक बजेट ल्याउँदा मात्रै औचित्य पुष्टि गर्ने डा. खनालको भनाइ छ । उनले बजेटमा राखिएको राजश्व संकलन लक्ष्य अनुसार २ खर्ब बढीले राजश्व भेटिन नसक्ने आँकलन रहेको दाबी गरे । खर्च कटौति गर्न पनि पूरक बजेट आवश्यक रहेको भन्दै उनले वर्तमान सरकारले  कानूनको शासन र त्यसभित्र सुशासन कायम गरी अहिलको बेथिति, विकृति, भ्रष्टाचारलाई ब्रेक थु्र गर्नेगरी सुशासनको परिपाटीलाई चुस्तदुरुस्त गर्नेगरी जानुपर्ने बताए ।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवि नेपालले सरकारले लगानीयोग्य रकम बजारमा पठाउन अर्थमन्त्रीले पूरक बजेट ल्याउनुपर्ने बताए । सरकारले पूरक बजेट नल्याए मुलुकको अर्थतन्त्र चलायमान हुन नसक्ने भन्दै डा. नेपालले वर्तमान सरकारले जसरी भएपनि बजारमा पैसा पठाउने काम गर्नुपर्ने देखिएकाले पूरक बजेट ल्याउन आवश्यक रहेको धारणा राखे ।

वर्तमान सरकारले पछिल्लो समय अर्थतन्त्र र उद्योगी व्यवसायीहरुका समस्या समाधान गर्न मागहरु सुनेको देखिएको भन्दै पूर्व गभर्नर डा. नेपालले अघिल्लो सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटलाई मध्यावधिक समीक्षा गरेर आर्थिक वृद्धिदर, मूल्यवृद्धिको लक्ष्यमा परिमार्जन गर्न आवश्यक रहेको औंल्याए ।

डा. नेपालले वर्तमान अर्थतन्त्रको अवस्था हेर्दा ८ प्रतिशत आर्थिक वृद्धि हुने र  मुद्रास्फिति लक्ष्य अनुसार कायम राख्ने अवस्था नदेखिएको बताए । अहिले सरकारले अर्थतन्त्रलाई जबर्जस्तस् दबाएर राखेको भन्दै बजारमा लगानीयोग्य रकम नभएर व्यवसायीहरुले चाहेर पनि लगानी गर्न नसकेको उनको भनाई छ । राष्ट्र बैंकले क्षमता अनुसार बजारमा लगानीयोग्य रकम पठाउने उपाय गरेपनि अपुग भएकाले सरकार सक्रिय हुन आवश्यक रहेको भन्दै उनले सरकारले अनौपचारिक रुपमा हुने खर्च वृद्धि गर्न दिन नहुने धारणा राखे ।

औपचारिक क्षेत्रमा पैसा नहुनु र अनौपचारिक क्षेत्रमा भएको पैसा बजारमा चलायमान हुनाले अनौपचारिक क्षेत्र खर्च बढ्दै गएको भन्दै उनले सरकारले अनौपचारिक खर्च रोक्नको लागि भएपनि पूरक बजेट ल्याएर औपचारिक क्षेत्रमा पैसा पठाएर नयाँ परियोजना,कार्यक्रम र निजी क्षेत्रको समस्या समाधान गर्न जरुरी रहेको बताए ।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले वर्तमान सरकारको अर्थतन्त्रलाई चलायमान बनाउने मौका चुकाउन नहुने धारणा राखे । वर्तमान सरकार सबै राजनीतिक पार्टीको साथ रहेकाले प्रधानमन्त्रीले समेत अर्थतन्त्र बलियो बनाउने काममा बढी केन्द्रित हुन आवश्यक रहेको उनको भनाई छ ।

पूर्वगभर्नर क्षेत्रीले अघिल्लो सरकार हुँदासम्म मुलुकको अर्थतन्त्र बिग्रियो, भत्किहाल्यो भन्ने गरिए पनि वर्तमान सरकार आएसँगै अर्थतन्त्रमा केही सकारात्मक सुधार देखिएको बताए। सरकारले तिब्ररुपमा काम गर्नसके ८ प्रतिशत आर्थिक वृद्धि हुनसक्ने आँकलन गर्दै उनले पछिल्लो समय अर्थतन्त्रका मुख्य सूचक रेमिट्यान्स बढ्ने, व्यापार घाटा कम हुने र विदेशी मुद्रा सञ्चितीमा सुधार भएको बताए ।

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १४:१५
प्रतिक्रिया दिनुहोस्