भेडापालन किसानको आम्दानीको नयाँ स्रोत ‘भोटे कुकुर’का छाउरा

शनिबार, माघ २१, २०७९

रुकुम–रुकुमपूर्व पथाउत्तरगङ्गा तकसेराका परिलाल बुढा भेडा गोठालो हुन् । उनी जाडो छल्नका लागि भेडा लिएर यतिबेला ठूलीदह पुगेका छन् । बर्खामा रुकुमपूर्वको हिमाली क्षेत्रमा भेडा चराउने बुढा हिमपात र चिसो बढेपछि चिसो छल्न रुकुमपश्चिमको विभिन्न भागमा पुग्छन् । 

भेडाको उनबाट राम्रो आम्दानी गर्दै आएका बुढाको अर्को आम्दानीको स्रोत हो, कुकुरका छाउरा । 

उनीसँग भोटे कुकुर छन् र भोटे कुकुरको माग निकै छ । बुढाले भेडा रक्षाका लागि भोटे कुकुर पालेका छन् । यही कुकुरमध्ये उनीसँग दुईवटा माउ कुकुर पनि छन् । ती माउ कुकुरले वर्षमा १० वटा छाउरा जन्माउँछन् । कुकुरका छाउरा बेचेर उनले राम्रो आम्दानी गर्छन् । एउटा कुकुरको छाउराको मूल्य १० देखि २० हजार रुपैयाँसम्म पर्छ । 

‘भोटे कुकुरका छाउराको माग निकै छ । काठमाडौैँ, पोखरालगायत सहरबाट माग आउँछ, माग पूरा गर्न सकिन्न’, उनले भने, ‘अहिले माग धान्नै गाह्रो भइसकेको छ ।’ उनले सबै कुकुरका छाउरा/छाउरी १० हजार रुपैयाँमा बिक्री गरेका छन् ।

अर्का भेडा गोठाला अकविर पुनमगरसँग पनि भोटे कुकुरका छाउरा थिए । राम्रोसँग हुर्किएका छाउरा २० हजार रुपैयाँसम्म बिक्री गरेको उनको भनाइ छ । उनीसँग भएका छ वटा छाउरा १० हजारदेखि २० हजार रुपैयाँसम्म बिक्री गरेको उनले सुनाए । 

‘एउटा माउ कुकुरले दुईदेखि पाँचवटासम्म बच्चा जन्माउँछ’, उनले भने, ‘बिक्रीमा कुनै समस्या छैन, भाउ पनि बर्सेनि बढिरहेको छ, हिमाली भेगका भेडीखर्कहरूमा पशु–चौपाया र घरको रक्षा गर्न कुकुरपालन अनिवार्य जस्तै छ ।’

ठूलो ज्यान गरेको भोटे कुकुरको स्वभाव अन्य कुकुरभन्दा फरक हुन्छ । दिनभर सुत्ने भोटेकुकुर रातभर घरको सुरक्षामा गर्छ । रुकुमपूर्वको माथिल्लो भेगका अधिकांशले पाल्ने भोटे कुकुर पछिल्लो समय सबैतिर पालिन थालिएको छ ।

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १८:४०
प्रतिक्रिया दिनुहोस्