झापामा ६ महिनाकाे अवधिमा ५०५ उद्योग दर्ता

शनिबार, माघ २१, २०७९

बनियानी – झापामा ६ महिनामा १ अर्ब बढीको उद्योग दर्ता भएका छन् । चालु आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तसम्ममा स्थायी र चालु गरी १ अर्ब ३१ करोड ३८ लाख ८९ लाख कूल पुँजी भएको ५०५ वटा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय झापाका निमित्त प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिए । 

जिल्लामा सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग दर्ता भएका छन् । नयाँ दर्ता भएकामध्ये झण्डै ४४ प्रतिशत अर्थात् २२२ वटा कृषि तथा वनजन्य उद्योग छन् । दर्ता भएकामा उत्पादनमूलक ७९ र सेवामूलक २०४ रहेको कार्यालयका कर्मचारी चन्द्र पौडेलले जानकारी दिए। साउनमा १०७, भदौमा १४४, असोजमा ५३, कात्तिकमा ४९, मङ्सिरमा ७७ र पुसमा ७५ वटा उद्योग दर्ता भए ।

दर्ता भएका ती उद्योगमा महिला र पुरुष गरी ५४२ उद्यमी छन् । ती उद्योग सञ्चालनमा आएमा १ हजार २८९ जनाले रोजगारीसमेत पाउने देखिन्छ । दर्ता भएका उद्योगको उत्पादन क्षमता वार्षिक १ अर्ब ३९ करोड ६० लाख ४ हजार छ । उद्योग दर्ताबापत कार्यालयले २० लाख १० हजार ७ सय राजस्व सङ्कलन गरेको छ ।

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  ०७:२७
प्रतिक्रिया दिनुहोस्