नेपाली श्रमिकलाई मलेसियाली श्रमिकसरह तलब सुविधा दिन माग

शुक्रबार, माघ २०, २०७९

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले भेटवार्ता गरेका छन् । 

शुक्रबार काठमाडौँस्थित एक होटलमा दुई देशका मन्त्रीबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटका क्रममा दुई सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउने बारेमा छलफल भएको बताइएको छ ।

बैठकपछि श्रममन्त्री अर्यालले मलेसिया सरकारसँग नेपाल सरकारको श्रम सम्झौतालाई नवीकरण गर्ने बेला भएको र नवीकरण गर्दा नेपाली श्रमिकलाई पनि मलेसियाका श्रमिकसरहको सेवा सुविधा दिने कुरामा छलफल भएको बताए ।

उनले नेपालबाट पनि कामदारलाई मलेसिया पठाउँदा स्किल सिकाएर पठाउने कुरामा छलफल भएको बताए ।

‘मलेसियासँगको सम्बन्ध हामी अझै अगाडि बढाएर जानेछौँ । श्रम सम्झौतासम्बन्धी नवीकरण गर्ने बेला भएको छ । हामीले त्यसलाई अत्यन्त सूक्ष्म तरिकाले अध्ययन गरेर आवश्यकताअनुसार सुधार गर्नेछौँ, अर्यालले भने, ‘नेपाली कामदारलाई मलेसियाका कामदारसरह नै सेवा सुविधा दिने कुरामा छलफल भएको छ । हामीले पठाउँदा पनि कामदारलाई स्किल सिकाएर पठाउने कुरा भएको छ ।’

त्यस्तै मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले नेपालबाट २ लाख ८५ हजार ७६८ जना श्रमिक मलेसिया गएको र सोमध्ये १ लाख ८५ हजार म्यानुफ्याक्चर्स क्षेत्रमा आबद्ध रहेको जानकारी दिए ।

त्यस्तै ७० हजार कर्मचारी सेक्युरिटी गार्डमा कार्यरत रहेको उनको भनाइ छ । उनले मलेसिया सरकारले नयाँ श्रम नीति बनाउन लागेको उल्लेख गर्दै कामदारअनुकूल नीति निर्माण गरिरहेको र त्यसबारेमा पनि बैठकमा छलफल भएको बताए ।

उनले कामदारका लागि ज्यालामा पनि वृद्धि गर्ने गरी नीति बनाएको बताए ।

३ दिने नेपाल भ्रमणका क्रममा बिहीबार साँझ आएका उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेट गर्ने कार्यक्रम छ ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १३:१६
प्रतिक्रिया दिनुहोस्