कृषि प्राविधिक पढेका राना च्याउखेतीबाट गर्दैछन् राम्रो आम्दानी

बिहीबार, माघ १९, २०७९

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका-६ कसरौलका २६ वर्षीय वीरबहादुर रानाले कृषि प्राविधिक पढेर घरमै च्याउ फार्म सञ्चालन गरी राम्रो आम्दानी गर्दै आएका छन् । ५ वर्षअघि कृषि जेटिएको पढाइ पूरा गरेका उनले च्याउखेती गर्दै आएका हुन्। 

बाह्रैमहिना च्याउ उत्पदान गर्दै आएका उनले फार्म सञ्चालनका लागि ७ लाख लगानी गरेका छन्। यसका लागि ५ वटा प्लास्टिक टनेल बनाइएको छ । 

'कृषि प्राविधिकको पढाइ पूरा गरेपछि सुरुमा  ५० हजार लगानी गरी एक टनेलमा मात्रै च्याउ उत्पादन गर्न सुरु गरेको थिएँ, उत्पादन राम्रो भएपछि लगानी र फार्म बढाइरहेको छु,' उनले भने । 

उनले दैनिक ५० किलोभन्दा बढी च्याउ बिक्री गर्दै आएका छन् । स्थानीय बजारमा १५० देखि २ सय सम्ममा बिक्री हुने गरेको छ । ३ महिनामा १० क्विन्टल च्याउ बिक्री भएको उनको भनाइ छ भने १५ क्विन्टल च्याउ बिक्रीका लागि तयारी अवस्थामा छ । 

'च्याउ बिक्री गरी वार्षिक ५ लाख आम्दानी हुने गरेको छ, उत्पादन बढाएर वर्षमा आम्दानी दोब्बर पार्ने योजना छ, त्यसका लागि काम भइरहेको छ,' उनले भने ।  

रानाले कन्या र पिङ्की जातको च्याउको उत्पादन गरिरहेका छन्। मिल्की च्याउ उत्पादनका लागि परीक्षण भइसकेको छ । आगामी दिनमा फरक जातका च्याउ उत्पादन गर्ने योजना बनाएको उनले बताए। 

निजीस्तरबाट सञ्चालित कञ्चन कृषिवस्तु उत्पादन तथा प्रशोधन केन्द्रको प्रयोगशालामा उनले च्याउको बीउ आफै उत्पादन गरेका छन्। च्याउ उत्पादनका लागि पराल काट्ने, उमाल्ने, पोका बनाउने, बीउ राख्ने, स्प्रे गर्ने, प्याकिङ, ग्रेडिङलगायतका कार्यमा घरपरिवारले सहयोग गर्ने गरेका छन् । हालै विवाह बन्धमा बाँधिएका रानाले च्याउ खेतीकै आम्दानीले विवाहको खर्च जुटाएका हुन्। 

'प्राविधिक शिक्षा पढेका अधिकांश युवाको रोजाइँ निजामति सेवा प्रवेश हुन्छ, निजामति सेवामा प्रवेश पाउन नसकेका युवाको दोस्रो रोजाइँमा बैदेशिक रोजगारी पर्ने गरेको छ, प्राविधिक शिक्षा पढेर स्वदेशमै स्वरोजगारमा संलग्न हुनेको सङ्ख्या विरलै देख्न पाइन्छ,'  कञ्चन कृषिवस्तु उत्पादन तथा प्रशोधन केन्द्रको प्रयोगशालाका सञ्चालक चुडामणि जोशी भन्छन् ।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १२:४८
प्रतिक्रिया दिनुहोस्