गुल्मीमै पहिलो पटक ‘एक घर–एक करेसाबारी’अभियान सुरु

आइतबार, माघ १५, २०७९

गुल्मी -लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोग र कृषि ज्ञान केन्द्र गुल्मीको समन्वयमा जिल्लामै पहिलो पटक मालिका गाउँपालिका –६ अर्र्जैमा ‘एक घर–एक करेसाबारी’ अभियान सुरु भएको छ । बजारमा पाइने विषादीमिश्रित तरकारीको आयात रोक्दै आर्गानिक तरकारी उत्पादन गरी वडालाई तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ अभियान सुरु गरिएको हो । चालू आर्थिक वर्षमा संचालन हुने ‘एक घर–एक करेसाबारी’ अभियान शुभारम्भ गर्न कृषक र सरोकारवालाबीक एक दिने अभिमुखिकरण पनि गरिएको छ ।  

बजारमा दैनिक भित्रिने विषादी तरकारीको आयात रोक्दै आर्गानिक तरकारी उत्पादन वृद्धि गरी वडालाई तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यले वडाका प्रत्येक घरलाई अनिवार्य लागू हुने गरी अभियान सुरु गरिएको हो ।

अभिमुखीकरण कार्यक्रममा कृषकलाई कृषि र करेसाबारीमा आर्कषण बढाउन जंगली वन्यजन्त नियन्त्रण, प्राविधिक ज्ञान, तालिम र माटो परीक्षण हुनुपर्ने सहभागी कृषकले माग राखेका थिए । 

‘एक घर–एक करेसाबारी’ लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयबाट १५ लाख रुपैयाँ विनियोजन भएको छ । वडाभित्रका प्रत्येक घरका कृषकलाई अभियानमा जोड्ने र तरकारी तथा फलफूलमा वडालाई आत्मनिर्भर बनाउने कृषि ज्ञान केन्द्रको तयारी छ । 

कृषि ज्ञान केन्द्रको समन्वयमा वडाका प्रत्येक घरदुरीमा टनेल निर्माण गरेर करेसाबारी संचालन गरेको–नगरेको प्राविधिक सहयोगमा अनुगमन गरिरहने र प्रदेशकै नमुना अभियानका रूपमा सफल पार्ने गरी अभियान सुरु गरिएको मालिका गाउँपालिका –६ अर्जैका वडाअध्यक्ष दीपक भण्डारीले जानकारी दिए । 

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १७:०४
प्रतिक्रिया दिनुहोस्