क्यानका अध्यक्ष, सचिव र कोषाध्यक्षको राजीनामा माग

आइतबार, माघ १५, २०७९

काठमाडौँ –नेपाल क्रिकेट संघ (क्यान) का ७ जना केन्द्रीय सदस्यले क्यानका पदाधिकारीहरूको राजीनामा माग गरेका छन् । नेपाल टी–२० लिगमा गरेको गल्तीका कारण नेतृत्व तह र कार्यसम्पादन समिति पूर्ण जिम्मेवारी बहन गर्न नसेको भन्दै उनीहरूले राजीनामा मागेका हुन् ।

उनीहरूले क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव मल्ल र कोषाध्यक्ष रोशन सिंहले राजीनामा दिनु पर्ने माग गरेका हुन् ।

यस्तै नेपाल टी–२० लिगको गभर्निङ काउन्सिलका संयोजक प्रशान्तविक्रम मल्ल, सदस्यहरू दुर्गाराज पाठक, भानुभक्त सिग्देल, अशोक मल्होत्रा र सेभेन थ्रीका जतिन अहलुवालिया पनि दोषी रहेको उनीहरूको दाबी छ ।

गत पुसमा त्रिवि क्रिकेट मैदानमा सम्पन्न भएको प्रतियोगितामा स्पट फिक्सिङ जस्ता दुःखद् घटना भएको र त्यसको पूर्ण जिम्मेवारी क्यान नेतृत्वले लिनुपर्ने पत्रकार सम्मेलनमार्फत ७ सदस्यले माग गरेका हुन् ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्यहरू ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले पटक–पटक सचेत गराउँदा पनि जानाजान गल्ती गरेको बताए ।

‘गत बिहीबार क्यान अध्यक्ष चतुरबहादुर चन्द, कार्यबाहक सचिव प्रशान्त मल्ल र कोषाध्यक्ष रोशन सिंहले गरेको पत्रकार सम्मेलन क्यानको आधिकारिक धारणा नभएको प्रष्ट पार्न चाहन्छौं,’ ७ सदस्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘किनभने यस विषयमा बोर्डमा छलफल गरिएको थिएन । क्यान नेतृत्वले जानाजान गरेको गल्तीले नेपाली खेलाडी प्रहरी नियन्त्रणमा हथकडी सहित देखिनु अर्को दुःखद् पक्ष हो ।’

क्यानका अध्यक्ष चन्दले बिहीबार पत्रकार सम्मेलनमा सेभेन थ्री स्पोर्ट्सलाई विश्वास गर्नु गल्ती भएको बताएका थिए । तर, जिम्मेवार संस्थाको जिम्मेवार पदाधिकारीहरूले गल्ती स्वीकार गरेर मात्रै नपुग्ने र त्यसको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने उनीहरूले माग गरेका छन् ।

‘स्पट फिक्सिङ जस्तो गम्भीर अपराध हुन दिनको लागि बाटो खोलिदिन पदाधिकारीहरूको गल्ती र कार्यसम्पादन समितिका सदस्यहरूको भागिदार नेपाल क्रिकेट संघ हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले हामी नेपाल क्रिकेट संघलाई होइन, कार्यसम्पादन समितिमा रहेका ५ जनालाई निलम्बन गरी कारबाहीको माग गर्दछौं ।’

भारतीय कम्पनीको शंकास्पद पृष्ठभूमी र उसको नियतमाथि सुरुदेखि नै आशंका गरेर जानकारी गराएको र आज त्यही साबित भएको उनीहरूको भनाइ छ ।

यस्तो छ विज्ञप्ति

about-t-20-fixing-press-meet-21674979534.jpg

about-t-20-fixing-press-meet-1-rotated1674979589.jpg

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १३:४९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार