जर्मनीसँग श्रम सम्झौता गर्न ड्राफ्ट तयार

मौसमी र वर्किङमा कामदार पठाइँदै
आइतबार, माघ १५, २०७९

काठमाडौँ– जर्मनीमा वैदेशिक रोजगारीमा कामदार पठाउन सरकारीस्तरमा श्रम सम्झौता गर्न प्रक्रिया अगाडि बढेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जर्मनीमा कामदार पठाउने ड्राफ्ट तयारी गरी त्यहाँको सम्बन्धित मन्त्रालयमा कामदार पठाउन लागिएको जनाएको छ । 

जर्मनीले पहिलो चरणमा कोटा प्रणालीबाट कामदार लिन खोजेको र नेपालले अन्य देशसँग गरेको श्रम सम्झौता जस्तो फ्रि भिसा र फ्रि टिकटकै मोडलमा श्रमिक पठाउन छलफल अगाडि बढाएका श्रम मन्त्रालयले जनाएको छ । 

जर्मनीमा मौसमी र वार्किङ भिसामा कामदार पठाउने गरी छलफल भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनायारण अर्यालले जानकारी दिए ।

जर्मनीले पनि विगतदेखि नै वैदेशिक रोजगारीमा नेपालबाट श्रमिक लिने चाहेको र सोहीअनुसार प्रक्रिया अगाडि बढेको उनले बताए । 

‘जर्मनसँग श्रम सम्झौता गरेर कामदार पठाउन ड्राफ्ट तयार भएको छ । जर्मनीले पनि नेपालबाट कामदार लिने एउटा मापदण्ड पठाएको छ । दुवै देशको श्रम कानुनका आधारमा श्रमिक पठाउन गरी ड्राफ्ट पनि बनेको छ,’ सचिव अर्यालले भने ‘जर्मनी नेपालको हकमा राम्रो रोजगार गन्तव्य देश र विकाशित देशको रोजगारीमा पर्छ । जसका कारण सरकारले जर्मनीमा कामदार पठाउन श्रम सम्झौता गर्न लागेको हो ।’ 

जर्मनीमा मौसमीसँगै वार्किङमा कामदार पठाउने र उनीहरूले अन्तर्राष्ट्रिय श्रम ऐनअनुसार सेवा सुविधा पाउने उनको भनाइ छ । श्रम सचिव अर्यालका अनुसार अहिले यति कामदार पठाउने भन्ने यकिन भएको छैन । तर, वार्षिक ५ हजारको संख्यामा जर्मनीमा कामदार पठाउने सकिने उनले जानकारी दिए  ।  

जर्मनीमा उद्योग, होटल, स्वास्थ्य, कृषि, उत्पादन र पर्यटन क्षेत्रमा कामदार पठाउने गरी ड्राफ्ट तयार भएको श्रम मन्त्रालयले जनाएको छ । जर्मनी जाने कामदारको सेवा सुविधा, तलब, रोजगार बिमा, स्वास्थ्य सुविधा, हवाई टिकट, सामाजिक सुरक्षा कोष, करार अवधि र आवतजावत खर्चका बारेमा ड्राफ्टमा प्रष्ट खुलाइएको श्रम मन्त्रालय जनाएको छ । 

जर्मनीमा रोजगारीमा जाने कामदारले मासिक १ लाख ७० हजार रुपैयाँसम्म कमाउन सक्ने मन्त्रालयको भनाइ छ । जर्मनीमा अहिले पनि व्यक्तिगत भिसामा रोजगारीका लागि नेपालीहरू जाने गरेको वैैदेशिक रोजगार विभागका तथ्यांकमा उल्लेख छ । जर्मनीकोे कृषि, होटल, उद्योग, शिक्षण र अन्य पेशामा वार्षिक व्यक्तिगत भिसा १ हजार ५ सय जना नेपाली रोजगारीका लागि जाने गरेको विभागले जनाएको छ । 

हाल जर्मनीमा २० हजारको हाराहारीमा नेपालीहरू रोजगारीमा कार्यरत रहेको श्रम मन्त्रालयको अनुमान छ । जर्मनीपछि नेपालले पोर्चुगल, रोमानिया, पोल्याण्ड र फ्रान्ससँग पनि श्रम सम्झौता गरेर कामदार आपूर्ति गर्ने तयारी गरिहरेको छ । 

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १३:०३
प्रतिक्रिया दिनुहोस्