राष्ट्रपतिबारे कुनै पार्टीलाई बाइपास गरेर जान हुँदैन : माओवादी

बिहीबार, माघ १२, २०७९

काठमाडौँ– नेकपा माओवादी केन्द्रले राष्ट्रपतिबारे नेपाली कांग्रेससँग पनि सहमति गरेर जानुपर्ने निष्कर्ष निकालेको छ । कुनै पार्टीलाई बाइपास गरेर राष्ट्रपति चयन गर्न नहुने माओवादीको धारणा छ । 

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र राष्ट्रपति निर्वाचनबारे पार्टीको धारणा बनाउन बिहीबार बसेको माओवादी स्थायी कमिटी बैठकले सरकारलाई समर्थन गरेको कांग्रेससँग समेत सहमति गरेर बढ्ने निर्णय गरेको हो । 

बैठकपछि माओवादी सचिव देवेन्द्र पौडेलले कांग्रेस र एमाले दुवैलाई मान्य हुने व्यक्तिमा सहमति खोज्नुपर्ने पार्टीको धारणा रहेको जानकारी दिए ।

‘कुनै पार्टीलाई बाइपास गरेर राष्ट्रपति छान्न ठीक हुँदैन भन्नेबारे छलफल ग¥यौँ’, पौडेलले भने, ‘एमालेलाई बाइपास गरेर पनि सहमति हुँदेन, कांग्रेसलाई बाइपास गरेर पनि सहमति हुँदैन ।’

प्रतिनिधिसभाको कार्यकालको सुनिश्चितता र संविधानको रक्षाका लागि राष्ट्रपतिमा सहमति गर्नुपर्ने माओवादी धारणा आएको हो । 

पुस १० गते एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा प्रधानमन्त्री माओवादीले लिने तथा राष्ट्रपति र सभामुख एमालेले लिने भद्र सहमति भएको थियो ।

नेपाली कांग्रेसले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिएकाले उसलाई समेत सहमतिमा लिएर जानुपर्ने माओवादीको धारणा छ । 

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराएका थिए । अध्यक्ष प्रचण्डले मौखिक र लिखित प्रतिवेदन पेस गरेका थिए । समिति बैठक भोलि शुक्रबार पुनः बस्नेछ ।
 

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १७:१२
प्रतिक्रिया दिनुहोस्