अर्थमन्त्री पौडेल र नाडा पदाधिकारीबीच छलफल

मंगलबार, माघ १०, २०७९

काठमाडौँ –नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)का अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरेको छ । 

अटोमोबाइल क्षेत्रका समसामयिक समस्याका विषयमा नाडाले अर्थमन्त्री पौडेलसँग छलफल गरेको हो । 

छलफलका क्रममा उपप्रधानमन्त्री पौडेलले सवारी साधनलाई सरकारले विलाशिताको वस्तुमा वर्गीकरण गरेको सन्दर्भमा त्यसबारे आउँदो बजेटमा छलफल गरिने बताए । नाडाका अध्यक्ष थापाले सवारी साधनहरूलाई सरकारले विलाशिताको वस्तुमा वर्गीकरण गरी सोही अनुरुप नीतिहरूको निर्माण भइरहेको गुनासो गर्दै सवारी साधनलाई त्यस वर्गीकरणबाट हटाउन आग्रह गरे ।

छलफलमा अध्यक्ष थापाले सरकारले आयातमा एलसी खोल्दा अनिवार्य नगद मार्जिन राख्नु पर्ने व्यवस्था हटाएको र सरकारले ८ महिनादेखि निजी प्रयोजनका डिजेल र पेट्रोलबाट चल्ने कार जीप र भ्यानको आयातमा लगाएकोे प्रतिबन्ध पनि केही समय अघि फुकुवा गरेकोमा धन्यवाद दिए ।

त्यसैगरी छलफलमा अध्यक्ष थापाले नेपाल राष्ट्र बैंकका अन्य केही नीतिका कारण अटोमोबाइल व्यवसायीहरू आफ्नो व्यवसायबाटै पलायन हुनु पर्ने अवस्था विद्यमान रहेको जनाउँदै नेपालका भन्सार नाकाहरूमा ६ महिना देखि करिव ३००० सवारी साधनहरूको भन्सार जाँचपास हुन नसकेकोमा अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १४:०१
प्रतिक्रिया दिनुहोस्