उपसभामुखको निर्वाचन आज, राना र यादव प्रतिस्पर्धा गर्दै

उपसभामुखको निर्वाचनमा पनि सभामुख निर्वाचनकै जस्तो राजनीतिक समीकरण
शनिबार, माघ ७, २०७९

काठमाडौँ– उपसभामुखको निर्वाचनको लागि शनिबार (आज) दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ ।

 

उपसभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा रानामगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले मनोनयन दर्ता गराएका छन् । 

 

सत्तारूढ दलको समर्थनमा रास्वपाकी रानामगरको प्रस्तावकमा रास्वपाकै सोविता गौतम छिन् ।  रानामगरको समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन्। 

 

गत निर्वाचनदेखि राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीतिमा होमिएकी उनी समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवार बनेर प्रतिनिधिसभा सदस्य बनेकी हुन् । 

 

त्यस्तै, सत्ता गठबन्धन बाहिर रहेका दलको समर्थन रहेको यादवको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल छन्। 

 

यादव पार्टीकी केन्द्रीय सदस्य साथै राष्ट्रियसभाकी पूर्वसांसदसमेत हुन् । उनी २०७४ मा मधेस प्रदेशबाट दुई वर्षका लागि राष्ट्रियसभा सदस्यमा चुनिएकी थिइन् । 

 

सत्तारूढ दलको समर्थनमा एमालेले उम्मेदवार बनाएको देवराज घिमिरेले प्रतिनिधिसभामा १६७ मत ल्याएर सभामुख निर्वाचित भएका छन् । उपसभामुखको निर्वाचनमा पनि सभामुख निर्वाचनकै जस्तो राजनीतिक समीकरण प्रतिनिधिसभामा कायम रहने अवस्था छ । त्यसो हुँदा रास्वपाकी राना मगर उपसभामुख निर्वाचित हुने सम्भावना प्रवल छ । 

 

तर, संयोग यस्तो बन्यो कि, प्रतिनिधिसभाको सभामुख र उपसभामुखको प्रतिनिधित्व एउटै जिल्ला र उही निर्वाचन क्षेत्रबाट हुने भयो । 

प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  ०७:१४
प्रतिक्रिया दिनुहोस्