प्रादेशिक सहिद पार्कलाई पर्यटकीय गन्तव्य बनाउने तयारी

शनिबार, माघ ७, २०७९

कर्णाली– वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेतस्थित प्रादेशिक सहिद पार्कलाई पर्यटकीय गन्तव्य बनाउने तयारी गरिएको छ ।

 

वीरेन्द्रनगर ४ सुर्खेतको भैरम सामुदायिक वनमा पर्ने सहिद पार्कको आकर्षण बढ्दै जाँदा यसलाई प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन लागिएको हो ।

 

उक्त सामुदायिक वन उपभोक्ता समूहको शुक्रबार सम्पन्न २३ औँ वार्षिक साधारणसभामार्फत संस्थाका अध्यक्ष अमरबहादुर कार्कीले यसका लागि गुरुयोजना निर्माण गरिएको बताए ।

 

उनले भने, ‘आगामी आर्थिक वर्षमा सामुदायिक वनले सहिद पार्कमा गुरुयोजनाअनुसार झरना, मचान, ट्रि हाउसलगायतका संरचना निर्माण गर्नेछ । यसले आन्तरिक तथा विदेशी पर्यटकको आकर्षण बढाउनेछ ।’ वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले सामुदायिक वनको हाताभित्र रहेको प्रादेशिक सहिद पार्क प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य गराउनुपर्ने सुझाव दिए ।

 

उनले सहिद पार्कभित्र गुरुयोजना विपरितका कुनै पनि काम नगर्न आग्रह गर्दै त्यसको पुनरावलोकन गरी सोहीअनुसार संरचना निर्माणमा ध्यान दिनुपर्ने बताए । पार्कभित्र पुराना नमूना घर, कोल, ढिकी जाँतोजस्ता पम्परागत संरचनाहरु निर्माण गर्न सकिए त्यसले पर्यटकलाई थप आकर्षित गर्ने उपप्रमुख खनालको भनाइ थियो । वीरेन्द्रनगरका पूर्वप्रमुख देवकुमार सुवेदीले उक्त सामुदायिक वन अध्ययन केन्द्रको रुपमा पनि विकास गर्न सल्लाह दिए ।

 

वीरेन्द्रनगरको पानीको मुहान मानिने उत्तरी जलाधार क्षेत्रलाई संरक्षण गर्ने योजना ल्याउन वन समूहलाई आग्रह गर्दै उनले पार्कलाई सफा र स्वच्छ राख्ने संरचना निर्माण गर्न निर्देशन दिए ।

प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  ०६:३५
प्रतिक्रिया दिनुहोस्